गुल्मी । गुल्मीको क्षेत्र नं २ का अधिकांश स्थानमा छुट्ने लामो तथा छोटो दुरीका सवारी साधनले उदिनढुङ्गा बसपार्क अत्यन्तै व्यस्त हुने गर्छ । तर अति महत्वपूर्ण र व्यस्त बसपार्कको व्यावस्थापन नहुँदा नागरिक र यातयात व्यावसायीले बर्षौदेखि सास्ती खेपिरहेका छन् । हिउँदमा धुलाम्ये । बर्षातमा हिलाम्ये । रेसुङ्गा नगरपालिका २ उदिनढुङ्गामा बसपार्कको आधार निर्माण गरेको करिव एक दशक भए । तर, अहिलेसम्म बसपार्क कच्चीनै छ भने बसपार्क भवन बर्षौदेखि अलपत्र परेको छ ।
शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाद्धारा बसपार्कको प्रशासनीक भवन निर्माण सुरु भएको थियो । बसपार्क भवनको लागि ०७२ सालमा शहरी विकास तथा भवन डिभिजन कार्यालय पाल्पाले चार करोड ५१ लाखको स्टिमेट गरेको थियो । भवनको स्टिमेटमा शौचालय, प्रहरी बिट, टिकट काउन्टर लगायतका कोठाहरुको डिजाइन गरिएको छ । ०७३ सालमा ६० लाखको मात्र टेण्डर गरिएको छ । सोहि बराबरको काम पनि भएको छ । त्यसपछि कार्यालयले ०७४ को वैशाखमा तीन करोडको टेन्डर आह्वान भयो । तर, अन्तिममा सोहि कार्यालयले मूल्याकंन नगरिदिएकाले भवन अलपत्र परेको बसपार्क व्यास्थापन समितिको आरोप लगाउँछन् ।
पुन ०७६ को वैशाखमा ६० लाख विनियोजन भयो । टेन्डर गर्ने समय पुगेन । वसपार्क व्यवस्थापन समितिले काम गरेन् । जसका कारण त्यो रकम पनि फ्रिज गयो । पछिल्लो समय बिनियोजन भएको पाचँ लाख रुपैयाँले बसपार्कमा सामान्य ग्राभेलको काम भएको रेसुंगा नगरपालिकाका मेयर डिल्लीराज भुसालले बताए । मेयर भुसालले नगरबाट बनाउने स्तिथी भएको भए अलपत्रनै नपर्ने बताउँदै केन्द्रबाट पनि बजेटको कुनै व्यावस्था नहुँदा समस्या भएको जानकारी दिए । उनले बसपार्कको अवस्थाको बारेमा आयोजना कार्यान्वयन गर्ने कार्यालय, विभाग र मन्त्रालयदेखि मन्त्रीसम्मको ध्यानाकर्षण गराएकाले अधुरै अवस्थामा रहन नदिने बताए । भवनको डिपिआरदेखि ६० लाखको काम गर्ने कार्यालय तत्कालिन शहरी विकास तथा भवन डिविजन कार्यालय पाल्पा हो । अहिले त्यो जिम्मेवारी शहरी विकास तथा भवन निर्माण विभाग, संघिय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीमा सरेको छ । संघिय आयोजना कार्यान्वयन इकाई, रुपन्देहीका कार्यालय प्रमुख राजेन्द्र पाण्डेले भवनको बिषयमा पटक–पटक विभागमा पत्राचार र ध्यानाकर्षण गराए पनि बजेटनै नपरेकाले काम गर्न नसकिएको बताए । उनले अलपत्र भवन र बसपार्कको बिषयमा आफुलाई पनि चासो र चिन्ता भए पनि आवश्यक बजेट बिनियोजन नहुँदा गाह्रो भएको गुनासो गरे ।
भवन अलपत्र पर्दै गएपछि उदिनढुङ्गा बसपार्क भवन सार्वजनिक शौचालयभन्दा फरक छैन् । भवनमा बिग्रेका गाडी राख्ने, गाई गरु ओत लाग्ने, सडक बालबालिका सुत्ने र दिसा पिसाव गर्ने गरेकाले दुर्गन्धित बन्दै गएको छ । बहुउदेश्यीय बसपार्क शौचालयभन्दा फरक नभएपछि नागरिकमा निराशा छाएको छ । पानी परे हिलो र घाम लागे धुलोले बसपार्क झर्ने यात्रु तथा बसपार्क नजिक घर भएकाहरु पीडित बन्दै आएको यातयात व्यावसायी माधव बिष्टले गुनासो गरे । उनले सदरमुकाममै राज्यको लगानी बालुवामा पानी सरह हुँदा स्थानीय सरकार र सरोकारवाला चुप लागेर बस्नु लज्जाको बिषय भएको गुनासो गरे ।
बसपार्क व्यवस्थित नभएका कारण उदिनढुङ्गा चोकको ओरालोमा यातयात व्यावासायीका काउन्टर छन् । नागरिकको दैनिक भीड हुन्छ । ओरालो चोकको कारण दुर्घटनाको संभावना समेत त्यतिकै रहेको छ । साँघुरो सडकमा सवारी साधन बढि र पार्किङ्गको लागि बसपार्कको राम्रो व्यावस्था नभएकाले निकै मुस्किल परेको गुल्मी यातयात व्यावसायी समितिका महासचिव हिमाल कुवरले गुनासो गरे । कुवंरले सुरुबाटै आफुहरुले भवनभन्दा बसपार्क पिचको कुरालाई जोड दिदै आएको बताए । बसपार्कको जग्गाको बिच भागमै भवन निर्माण गरिएको छ । जसले बासपार्ककै शोभा नभएपछि सुरुमा स्थानीय र व्यावसायीहरुले गलत डिजाइन भनेर बिरोध पनि गरेका थिए । बसपार्क भन्ने मात्रै हो । बिच भागमा बनेको भवनको कारण बसपार्कमा भन्दा बाहिर पार्किङ्ग बढि पार्किङ्ग हुने गरेका छन् । बसपार्क छेउका ग्यारेज र यात्रुको फोहोरले बसपार्क दैनिक प्रदुषित र साँघुरो बन्दै गएको छ ।