दाङ : दाङमा थारु संग्राहलय खुलेको छ। दंगिशरण गाउँपालिका वडा नं. –३ चखौरामा स्थापना गरिएको संग्रहालयको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बिहीबार उद्घाटन गरे। थारु संग्रहालय पछिल्लो समय आन्तरिक पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ।
थारु जातिको कला संस्कृति, रितिरीवाज, परम्परा, भाषाको ज्ञानसँगै थारु जातिको जीवनशैली झल्काउने उद्देश्यले संग्राहलय स्थापना गरिएको प्रदेश सांसद डिल्लीबहादुर चौधरीले बताए।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले संग्राहलयको सवलीकरणका लागि ६५ लाख रुपैयाँको सहयोगबाट सांस्कृतिक संग्राहलयलाई थप व्यवस्थित गर्ने काम गरिएको नेपाली काँग्रेसका नेता समेत रहेका चौधरीले बताए।
संग्रहालयमा थारु जातिको कला, संस्कृति, रितिरीवाजसँगै थारु जातिका प्रथम राजा दंगिशरणको प्रतिमा समेत स्थापना गरिएको छ। थारु जातिको उद्गम स्थलका रुपमा रहेको दाङलाई थारु जातिको कला, संस्कृति, पहिचानसँगै इतिहास अध्ययन गर्ने केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले संग्रहालय स्थापना गरिएको सांसद चौधरीले बताए।