गुल्मी । रेसुंगा नगरपालिका १४ पराल्मी टेकुवाका २१ बर्षीय मेख बहादुर पेमीसंग अझै बाँच्ने आश छ । तर उपचार गर्ने पैसा छैन् । गम्भीर रोगका कारण डेढ बर्षदेखि ओछ्यानमा छन् । अरुको रगत नभए बाँच्नै सकिदैन् । अब त त्यहि रगत पनि कसरी कोसंग माग्ने पेमी परिवारसंग उपाय छैन् । नागरिक उपचार खर्च तिर्न नसकेर अस्पतालमा बन्धक बन्छन् । गम्भीर रोगको उपचार गर्न नसकेर आछ्यानमै मृत्यु कुर्न बिवश छन् । तर सरकार अन्तै रनभुल्ल छ ।
उनी डेढ बर्षदेखि ब्रोन म्यारोले काम नगरेपछि एप्लाष्टिक एनिमियाँ रोगका कारडा थला परिरहेका छन् । पेमी ०७६ साउनमा बेसरी थलिए । केहि समय लक्षण अनुसार जण्डिसको शंका लागेर गाउँमै विभिन्न उपचार गरे । निको भएन बरु समस्या झन बल्झिदै गयो । घरपरिवारले उपचारको लागि तम्घासदेखि बुटवलहुँदै भरतपुरसम्म पुराए । तर, रोग पत्ता लागेन् । स्वदेशमा केहि उपाय नलागेपछि मेखबहादुर भारत गए । तीन महिनापछि मात्रै रोग पत्ता लागेको बुवा ६२ बर्षीय चन्द्र बहादुर पेमीले बताए ।
भारतमा उपचार पत्ता लगाउने काम मात्रै भयो । डाक्टरहरुले उपचारको लागि भारतीय १२÷१५ लाख लाग्ने बताएपछि बिपन्न परिवार झस्कियो । बल्लतल्ल गुजारा चलाएको गरिव परिवारका लागि त्यति ठुलो रकम असंम्भब नहुने कुरै भएन् । ‘हजारकै लागि मुस्किल थियो लाख जुटाउने उपायनै भएन,’उनले भने,‘बसेर के गर्ने उपचार नगरेरै घर फर्किएँ ।’ उनको शरिर आफैले रगत उत्पादन गर्दैन् । प्रत्येक महिना अरुको रगत चढाउनुपर्छ । डेढ बर्षदेखि अरुकै रगत चढाएर बचाइएको बुवा चन्द्र बहादुरले बताए । प्रत्येक महिना रातो र सेतो रगत गरेर आठ पोकासम्म रगत आवश्यक पर्छ । पेमी परिवारले रगतकै लागि मात्रै २५ देखि ३० हजार मासिक खर्च गरिरहे छ । चन्द्र बहादुरका ६ जना छोरा छोरी हुन् । ठुलो र बिपन्न परिवार । गाउँमा रोजगार थिएन ।
उब्जनी नहुे रुखो खेतबारी । चन्द्रबहादुरलाई परिवार पाल्न सजिलो थिएन् । उनी ४२÷४३ बर्ष भारतमा काम गरे । मुस्किलले परिवार पाले । चार छोरीहरुको बिहे र छोराहरुलाई माविसम्म पढाउँदा बचतनै भएन् । मेख बहादुरलाई भाई ब्रोन म्यारो दिन तयार छन् । तर फेर्न मात्रै २५ लाख लाग्ने भएकाले समस्या आएको हो । ‘बुढेशकालसम्म छोराछोरी भनेर भारतमै काम गरेँ जेठो छोराको कमाई खाने बेलामा रोगले छोप्यो,’चन्द्र बहादुरले भने,‘बचाउँन पाए हुन्थ्यो भनेर भगवानसंग दुई हात जोडेको छु ।’ पेमी परिवारलाई गाउँका क्लव, वडा, नगरबाट सामान्य सहयोग भएको हो ।
अहिलेसम्म पाँच÷सात लाख खर्च भइसकेको छ । अब पेमी परिवारले क्रृणधन गरेर रगत चढाउने पनि उपाय छैन् । ‘उपचारमा ठुलो रकम आवश्यक पर्ने भएकाले गरिवलाई राज्यलेनै सहयोग गर्नुपर्छ,’छिमेकी मोहन गौतमले भने,‘चन्दा संकलन गरेर कहिलेसम्म बच्ने र बचाउने ।’ अब स्वदेश तथा परदेशबाट सहयोग भएन भने परिवारले रगत किन्ने समेत उपाय नभएको गौतमले बताए । सुरु देखिनै पेमी परिवारलाई सहयोग गरिरहेका तम्घासका राजिब बराल, पुजा राना र सन्तोष न्यौपानेले ‘मेख बहादुर पेमी बचाउ अभियान’ संचालन गरेका छन् ।