दाङ– राप्ती गाउँपालिका वडा नं. १ शान्तिपुर निवासी ७३ बर्षीय खड्गबहादुर राउत हिजोआज फुर्सदिला छन्। असारदेखी असोजसम्मको चार महिना उनलाई घर बस्न समेत फुर्सद हुदैन। राप्ती नदीमा उर्लने भेलसँगै खड्गबहादुरको व्यवस्तता पनि बढ्ने गर्छ। हिउँदमा राप्ती शान्त छ। खड्गबहादुर पनि आराममा छन्। राप्ती नदीको बगासोतीमा जल मापन केन्द्र छ। २०३२ सालमा यहाँ जलमापन केन्द्र स्थापना भएको हो। खड्गबहादुर सुरुका दिन देखीनै गेज रिडरको रुपमा काम गर्दै आएका छन्।
उनको काम राप्ती नदीमा पानीको सतह नाप्ने र सूचना टिपाउने हो। यो काम गर्दै आएको ४५ बर्ष पुगेको छ। सुरुका दिनमा त बाढीको सूचना दिन आवा गर्नुपथ्र्याे। अहिले मोवाइल फोन आयो।
सूचना दिन त झनै सजिलो भयो। बाढीको सूचना पहिला आफैले दिनुपथ्र्याे। तर, अचेल समुदायका अगुवाले आफै फोन गर्छन्। ‘झरी लाग्यो की यता फोन बजिहाल्छ’ खड्गबहादुरले भने,‘अचेल त गाउँ गाउँमा मानिस सचेत भैसकेका छन्। बाढी आउने सम्भावना के छ भन्दै फोन आउछ। आत्तिनु पर्दैन भन्दै सम्झाउँछु।’
बाढी आएको बेला तुइन चढेर पल्लो किनार पुग्नुपर्छ । जल सतह बढेको या घटेको के छ ? टिपोट गरेर फर्किनुहुन्छ। बर्षाको समयमा त २४ घण्टा नै ड्यूटी हुन्छ। तीन बर्ष मात्रै पुगेको राप्तीको जलसतह नाप्न टेलिमेट जडान गरेको। अटोमेटिक सिस्टममार्फत बाढी बढेको या घटेको सूचना जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रमा पुग्छ।
त्यहाँबाट अनलाइनमार्फत सबै ठाउँ सार्वजनिक हुन्छ। टेलिमेट जडान भएपनि खड्गबहादुरको गेज रिडिङ्को काम भने चलिरहन्छ।‘बादल लाग्दा सोलार चल्दैन। अनि फेरी मलाई फोन गरेर सोधेपछि बताउनु पर्छ’उनले भने–‘गेजमा ६ मिटर बाढी पुग्यो भने अव खतरा बढ्न थाल्यो भने थाहा हुन्छ। अनी सबै ठाउँ खबर गर्छु।’
खड्गबहादुरले पहिलो फोन प्रमुख जिल्ला अधिकारीलाई गर्छन्। त्यसपछि नेपाली सेनाको ब्यारेकमा। अनी त्यस्तै गर्दै तल्लो नदी तटिय क्षेत्रमा रहेका समुदायमा सूचना दिन थाल्छन्।‘मान्छे जोगाउने काम हो। समयमा सूचना पाइएन भने बाढीले बगाउछ। डुबाउछ’उनले भने–‘प्यूठानमा पानी बढी प¥यो भने राप्तीमा बाढी आउने खतरा धेरै हुन्छ।’ सुरुका दिनमा सिन्धुलीमा आवा गरेर बाढीको सूचना दिनुपथ्र्याे। सिन्धुलीले भारतमा खबर पु¥याउँथ्यो।
कहिलेकाँही त बाढीको सूचना माग्न भारतबाटसमेत खड्गबहादुरलाई फोन आउँथ्यो। अहिले भारतमा सिधै सूचना दिनुपर्दैन्। ‘भारतको पटना,लखनऊँ, भादाबाट समेत फोन आउथ्यो। खै किन उनिहरुले बाढीको सूचना माग्थे’खड्गबहादुरले सम्झदै भने–‘अहिले पनि सिन्धुलीसम्म बाढीको खबर टिपाउँछु।’
समुदायको सकृयता
राप्ती जलाधार क्षेत्रमा ६९ ओटा सामुदायिक विपद् व्यवस्थापन समिति छन्। यी समिति भित्रको पूर्व सूचना कार्यदल बगासोतीबाट आउने बाढीको सूचना पर्खेर बसेका हुन्छन्। हरेक विपद् व्यवस्थापन समितिमा ४–५ जना पूर्व सूचना कार्यदलका सदस्य रहेका छन्। ती सदस्यले प्राप्त गर्ने सूचना समुदायका अन्य व्यक्ति माझ पु¥याउने काम गर्छन।
‘लगातार पानी प¥यो भने हामीले सोध्ने बगासोतीमा नै हो। उताबाट आउने सूचनाका आधारमा हामी तयारी गर्छौं’धनपुरुवा सामुदायिक विपद् व्यवस्थापन समितिका संयोजक लक्ष्मीप्रसाद चौधरीले भने–‘पहिला त यस्तो सूचना समेत आउदैनथ्यो। सूचनाको अभावमा हामी आतंकीत हुनुपथ्र्याे। तर, अहिले बाढीको सूचना विश्लेषण गर्न जान्दा सजिलो भएको छ।’
पूर्वसूचना प्रणालीले गर्दा राप्ती नदीको बाढीले गर्दा संकटासन्नतामा रहेका समुदायका व्यक्तिलाई सम्भावित विपद्का बारेमा पहिले नै जानकारी हुने गरेको छ। यस बर्षको बाढी ठूलो आउछ की भन्ने चिन्तामा रहेका लक्ष्मीप्रसादलाई पूर्व सूचना प्रणाली अन्तरगतको गेज रिडरको सूचनाले त्रसित गराएन।
बाढी आईहालेको भएपनि लक्ष्मीप्रसाद र उनको समुह विपद्को प्रतिकार्यको लागि आवश्यक तयारीमा थियो। बाढीले गर्दा वस्ती नै विस्थापित भएका छन्। घरमा बाढी पस्दा महत्वपूर्ण कागजपत्रहरु भिज्ने, बगाउने समस्या अझैं बढी छ। अहिले महत्वपूर्ण कागजपत्र एउटा झोलामा राख्ने गरिएको छ। जुन झोला बाढी आउदा सजिलै भेटाउन सकियोस।
राप्ती नदी जलाधार भित्रका नदी तटिय क्षेत्रमा दाङका चार ओटा स्थानिय तह छन्। नदीको तटिय क्षेत्रमा ६९ ओटा सामुदायिक विपद् व्यवस्थापन समिति छन्। यी समितिमा पूर्वसूचना कार्यदल पनि छ। एउटा कार्यदलमा कम्तिमा चार जना सदस्य रहेको छ। करिब दुई सय ७६ सदस्य पूर्व सूचना कार्यदलमा रहेर काम गर्दै आएका छन। पूर्व सूचना प्रणालीलाई सहयोग पु¥याउन तीन ओटा समुदाय स्तरमा गेज रिडर राखिएको छ।
राप्ती गाउँपालिका वडा नं. ३ बसन्तापुर, वडा नं. ६ बगरापुर र लमही नगरपालिका वडा नं. ८ धनपुरुवामा गेज रिडर राखिएको हो। यस अघी यहाँ गेज रिडर थिएन। जसले गर्दा समुदायले बाढीको सूचना थाहा पाउदैनथ्यो। यसका अतिरिक्त भालुबाङ र गढवा गरी राप्ती नदीको दुई ओटा पुलमा गेज रिडर राखिएको छ।
जोखिमको ज्ञान भएर यी ठाउँमा गेज रिडर राखिएको हो। गेज डिर स्थापना भएपछि सूचनाका सेवा थपियो। त्यसपछि बाढीको खबर आदान प्रदान हुन थाल्यो। संगसंगै समुदायमा जोखिमको सामना गर्ने क्षमता बढाउन सिपहरु प्रदान गरियो। समुदायस्तरमा बाढी प्रतिकार्यको क्षमता बढाउन सामुदायिक विपद् व्यवस्थापन समितिले नेतृत्वदायी भूमिका खेलेका छन्।
राप्ती गाउँपालिका वडा नं. १, २, ३, ६ र ७ मा १३ ओटा सामुदायिक विपद् व्यवस्थापन समिति छन्। यी समिति भित्र पूर्व सूचना कार्यदल, प्राथमिक उपचार कार्यदल, खोज तथा उद्धार कार्यदल छन्। तीन ओटा कार्यदलका भिन्दा भिन्दै जिम्मेवारी र भूमिका छन्। लमही नगरपालिकाको वडा नं. २, ४, ५, ६, ७, ८ र ९ मा गरी २८, गढवा गाउँपालिका वडा नं. १, २, ४, ५ र ७ मा गरी १५ ओटा, राजपुर गाउँपालिका वडा नं. २, ३, ४, ५, ६ र ७ मा गरी १३ ओटा सामुदायिक विपद् व्यवस्थापन समिति छन्।
सामुदायिक विपद् व्यवस्थापन समितिले बनाएका कतिपय योजना समुदाय आफैले कार्यान्वयन गर्ने खालका छन् भने कति स्थानिय सरकारसँगको समन्वयमा हुन सक्ने खालका रहेका छन्। समुदायमा विपद्को सूचना दिने साइरन, लाईफ ज्याकेट देखि लिएर अन्य सामाग्री समेत छन्। जुन बाढी आउदा सुरक्षित स्थानमा पुग्नको लागि आवश्यक पर्छन्।
यसका अतिरिक्त राप्ती नदीलाई व्यवस्थापन गर्ने काम मध्य बृहत नदी तटबन्धको योजना अघी बढेको स्थानीय सरकारका जनप्रतिनिधिले बताउने गरेका छन्। नेपाल रेडक्रस सोसाईटीले प्राक्टिकल एक्सनको सहयोगमा विपद् पूर्व तयारी बाढी पूर्व सूचना प्रणाली सवलिकरण परियोजना र स्थानीय सरकारको विचको साझेदारीले विपद् न्यूनिकरणको क्षेत्रमा सुधार आएको हो।
‘जनताको तटबन्धमार्फत राप्ती नदीलाई व्यवस्थित गर्ने काम चलिरहेको छ। आशा छ नदी पुरै तटबन्ध भयो भने राप्तीसँग जोडिएका विपद्हरु कम हुने छन्’लमही नगरपालिकाका नगर प्रमुख कुलबहादुर केसीले भने,‘नदी व्यवस्थापन नहुदा अहिले आईपरेका विपद्लाई न्यूनिकरण गर्न स्थानीय सरकारले गर्नुपर्ने सबै दायित्व र जिम्मेवारी हामीले निभाईरहेका छौं।’ सामुदायिक विपद् व्यवस्थापन समितिकोतर्फबाट राप्ती नदीले पु¥याउने समस्या र समाधान गर्न आवाज पु¥याउने काममा समेत सकृयता देखिन्छ।