गुल्मी । गुल्मीका सवै स्थानीय तहले एक घर एक धारा अभियान तिव्र रुपमा अगाडी बढाएका छन् । यो तीन वटै तहका चुनावी नारा समेत थियो ।
त्यसैले अधिकांश स्थानीय तहका जनप्रतिनिधीले पाँच बर्षभित्र सवैका घरमा खानेपानीको पहुँच स्थापित कस्सिएर लागेका छन् । अहिले गाउँ–गाउँमा नागरिकका खानेपानीको आशा पुरा गर्ने प्रमुख बिकल्प लिफ्ट प्रविधी बनिरहेको छ । त्यसका साथै ग्राभेटी माध्ययमद्वारा खानेपानीको पहुँच बृद्धि गरिएको छ ।
तर यी प्रविधीको विकाससंगै आउने प्राविधिक समस्या समाधानको लागि गाउँमा दक्ष जनशक्तिको अभाव छ । यो तालिम धेरै महत्वपूर्ण भएकाले सामान्य समस्या आउँदा पनि योजना अलपत्र बन्ने अवस्थाकोे अन्त्य गर्न मुसिकोट नगरपालिकाले प्रविधिको विकाससंगै गाउँमै प्राविधिक उत्पादन गरिरहेको छ ।
अहिले नगरपालिकाले खानेपानी योजनाहरुलाई दिगो रुपमा संचालन गर्न ग्रामिण मर्मत संभार कार्यकर्ताहरुलाई पलम्बिङ तालिम प्रदान गरिरहेको छ । यो बर्ष सम्पन्न हुने मुसिकोट नगरपालिकाका १४ वटा खानेपानी योजनाका २० जना कार्यकर्ताले खानेपानी योजना र मर्मत संभारको बारेमा तालिम प्रदान गरिएकोे नगरपालिकाको खानेपानी तथा सरसफाई शाखा संयोजक सिता भुसालले जानकारी दिइन् ।
तालिमलाई उपलब्धिमुलक बनाउन सहभागीलाई योजना स्थलमा पुराएर प्रयोगात्मक बिधिबाट तालिम प्रदान गरिएको छ । १० दिनसम्म संचालन हुने तालिममा खानेपानीको इन टयांकदेखि उपभोक्ताको घरसम्म आवश्यक पर्ने मर्मत संभारका बारेमा ग्रामीण कार्यकर्ताले जानकारी दिइने भुसालले बताइन् ।
उनले बर्षेनी विभिन्न गाउँमा योजना अनुसार तालिम संचालन भइरहेको बताइन् । गाउँमै प्राविधिक तालिम पाएपछि सहभागीहरु पनि खुसी छन् । पहिले आफुले जानेको अनुसार फुटेको ठाउँमा बाँसका ढुंग्रा हालेर, ठुलो पाइपमा सानो पाइप जोडेर काम गर्ने गरिएकोले अहिले तालिममा प्राविधिक बिषयमा निकै जोड दिएको प्रशिक्षार्थी मुसिकोट नगरपालिका ९ का ढण्डपाणी सापकोटाले बताए ।
मुसिकोट नगरपालिकाका अधिकांश वडामा खानेपानीको चरम संकट थियो । त्यसैले पनि नगरपालिकाले खानेपानीलाई प्राथमिकता दिएको छ । स्थानीय तहपछि नगरपालिकामा अहिलेसम्म ३२ खानेपानी योजना पुरा भएका छन् ।
करिव १२ करोडको लगानीमा ३५ सय घर धुरीमा एक घर एक धारा जडान गरिएको मेयर सोमनाथ सापकोटाले जानकारी दिए । यो बर्ष पनि १४ योजना निर्माण भइरहेकाले थप एक हजार एक घर एक धारा हुने सापकोटाले बताए । मुसिकोट नगरपालिकाले प्रत्येक बर्ष संचालन हुने खानेपानी योजनाहरुमा ग्रामीण कार्यकर्ताहरुलाई पलम्बिङ तालिम दिंदै आएको छ ।
यो बर्षपनि धेरै खानेपानी योजना भएकाले पनि योजना अनुसारको मर्मत संभार गर्नुपर्ने चुनौति नगर र उपभोक्ता समितिलाई छ । उनले खानेपानीका योजना निर्माणको लागि पनि बाहिरबाट प्राविधिक खोज्नु पर्ने र योजना सम्पन्न भएपछि पनि मर्मत संभारमा समस्या भएकाले अहिले गाउँमै प्राविधिक उत्पादन गर्न तालिम दिइरहेका बताए ।
नगरका ७ हजार ७८ घर धुरीमै खानेपानी पहुँच पुराउन मुसिकोट नगरपालिकाले प्रयत्न गरिरहेको छ । जसका लागि जनप्रतिनिधी पनि आफ्नै कार्यकालमा चुनावी बाचा एक घर एक धारा पुरा गर्ने रणनितीका साथ तीनै तहबीच समन्वय गरेर काम अगाडी बढाइरहेका छन् ।