बुटवल । सडक विभागअन्तर्गतको बेलहिया–बुटवल व्यापारिक मार्ग सडक विस्तार आयोजनाले राजमार्ग चौराहदेखि चिडियाखोला सडक सिमाभित्रका संरचना २४ घण्टाभित्र हटाउन सूचना जारी गरेको छ ।
सर्बोच्च अदालतका न्यायधिसद्वय सपना प्रधान मल्ल र डा. मनोज कुमार शर्माको संयुक्त इजलासले ‘जग्गाहरुमा निवेदकहरुले हालसाविक गराई नयाँ जग्गाधनी प्रमाण पूर्जा लिएको भन्ने कुरा उल्लेख भएको देखिंदा मिति २०७७/३/९ गतेको अल्पकालिन अन्तरिम आदेशलाई निरन्तरता प्रदान गर्नु परेन’ भन्ने ठहर गरेसँगै सडक विस्तारका लागि बाटो खुलेको थियो ।
इजलासको उक्त ठहरका आधारमा चौराह–चिडियाखोलाको करिब साढे तीन किलोमिटर सडक विस्तारका लागि सडक सिमाभित्र पर्ने संरचनाहरु तत्काल हटाउन आयोजनाले सूचना जारी गरेको हो ।
सूचनामा आयोजना कार्यालयका प्राविधिकहरुबाट नापजाँच गरी सडक सिमा केन्द्र बिन्दुदेखी २५ मिटर(८२ फिट) मा लगाइएको चिह्नसम्म पर्ने संरचनाहरु हटाई सडक निर्माणमा सहयोग गरिदिन अनुरोध गरिएको छ ।
आयोजना प्रमुख इ. जयलाल मरासिनीद्वारा हस्ताक्षरित उक्त सूचनामा जिल्ला प्रशासन कार्यालायलाई समेत बोधार्थ गराइएको छ । सूचनामा भनिएको छ–‘पटक पटक लिखित तथा सार्वजनिक सूचनामार्फत् जानकारी गराइएकोमा हालसम्म पनि २५ मिटरभित्र पर्ने संरचना हटाउने काम नभएकोले पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र संरचना हटाइदिनुहुन पत्राचार गरिएको छ ।’
आयोजनाले जारी गरेको उक्त सूचनामा तोकिएको समयावधीभित्र संरचना नहटाइएमा प्रचलित सार्वजनिक सडक ऐन २०३१ को दफा १९(२) अनुसार कारवाही अघि बढाइने बताइएको छ ।
सडक ऐनमा दफा १९(२) मा सडक विभागको स्वीकृत प्राप्त नगरी घर, टहरो वा छाप्रो बनाएमा वा सडक सिमाभित्र जग्गा आवादी गरेमा त्यस्ता घर, टहरा वा छाप्रो भत्काउन तथा आवादी गरेको जग्गा बझ्याउन आदेश जारी गर्न सक्नेछ ।
यसअघि शुक्रबार नै आयोजना प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका अधिकारी तथा बुटवल उपमहानगरपालिकाका प्रमुखलगायतले सडक सिमाक्षेत्रमा पर्ने संरचनाको अनुगमन गरेका थिए ।
अनुगमनपश्चात् आयोजना प्रमुख मरासिनीले सडक सिमाभित्र पर्ने संरचनामध्ये ५० प्रतिशत संरचनामात्रै भत्काइएको जानकारी दिएका थिए ।
राजमार्ग चौराहादेखि चिडिया खोलासम्म ३ दशमलव ५ किलोमिटर सडक विस्तारका लागि कञ्चन जङ्गा विरुवा जेभीले निर्माणको जिम्मा पाएको भए पनि जग्गा विवादले काम रोकिएको थियो । गत जेठमा नै समयावधी सकिएको योजनाका लागि सोही कम्पनीले काम गर्ने गरी म्याद थप गर्ने प्रक्रिया अगाडी बढाइएको कार्यालयले जनाएको छ ।
रुपन्देहीको सुनौली नाकादेखि बुटवलको चिडियाखोलासम्मको सडक विस्तारको काम हेर्दै आएको कार्यालयको जानकारी अनुसार सुनौलीतर्फ ७५० मिटर र भैरहवामा पनि २८ सय मिटर काम बाँकी रहेको छ । कूल २७ दशमलव ५ किलोमिटरको सडक विस्तार हुनु पर्नेमा हालसम्म २० दशमलव ४५ किलोमिटर सडकमा मात्रै विस्तारको काम सकिएको छ ।