गुल्मी । गुल्मीको सदरमुकाम तम्घास नजिकै रहेको रेसुङ्गा क्षेत्रमा आगलागी भएको छ । सदरमुकाम तम्घासको देउराली नजिकैबाट सुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । दिउँसो नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले नियन्त्रणमा लिएका थिए । तर, हावाहुरी चलिरहेको कारण अहिले फेरि आगलागी सुरु भएको सशस्त्र प्रहरी वल गुल्मीका सशस्त्र प्रहरी उपरिक्षक अशोक लम्सालले जानकारी दिए ।
उनले हावाले आगोको स्वरुपमा बढ्ने र घट्ने भएकाले अवस्था हेरेर नियन्त्रण टोली घटनास्थलतर्फ लाग्ने बताए । उपल्लो तम्घासको देउराली देखि केहि माथीबाट सल्किएको आगो दिनभर सुरक्षाकर्मीको टोलीले नियन्त्रण गरेर फर्के पनि बेलुका फेरि आगलागी सुरु भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले जानकारी दिइन् । अहिले पनि घटना स्थलको केहि तलबाट टोलीले अवस्था विश्लेषण गरिरहेकाले आगो बढ्ने बित्तिकै त्यसतर्फ परिचालन हुने शर्माले जानकारी दिइन् ।
तीन हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा फैलिएको धार्मिक तथा ऐतिहासिक रेसुंगा क्षेत्रको अधिकांश भू–भाग प्रत्येक बर्ष डढेलोले ध्वस्त भएको हुने गरेको छ । आगोले प्रत्येक बर्ष वन क्षेत्रभित्रका पशुपंक्षी, महत्वपूर्ण जडीबुटी, रुख विरुवा जलेर नष्ट हुने गरेका छन् । रेसुंगा क्षेत्रबाट प्रत्यक्ष लाभ उठाने स्थानीय नागरिक रमिते बनेर बस्ने गरेका छन् । प्रत्येक पटक आगोलागीले रेडियो नेपाल, एनसेल, भ्यू–टावर तथा यज्ञशाला लगायतका महत्वपुर्ण मन्दिर र भौतिक संरचना जोखिममा पर्ने गरेका छन ।
आगोले रेसुङ्गा धरोहर वरिपरिका सम्पूर्ण भाग डढाएर कुरुप बनाउँछ । आगलागी सम्बन्धी जनचेतना अभाव र हेलचेक्रयाईँका कारण हरेक वर्ष आगलागी हुने गरेको छ । प्राय भाडगाउँ र पराल्मीतिरबाट रेसुंगामा आगो लाग्ने गरेको छ । भने उपल्लो तम्घास देउराली नजिकदेखि, उर्लेनी र दुविचौरतिरको भागबाट पनि रेसुंगा क्षेत्रमा आगो लाग्ने गरेको छ । रेसुंगासंग जोडिएका थुप्रै उपभोक्ता समिति र इलाका तथा डिभिजन वन कार्यालयनै भएपनि कहिल्यै आगोलागी गर्नेको पहिचान र कारबाही नभएका कारण समस्या भइरहेको रेसुंगा संरक्षण समिति सदस्य कृष्ण प्रसाद भण्डारीले बताए । रेसुंगाको गौशाला खण्डमा सल्ला भएका कारण आगो लागेपछि नियन्त्रणमा आउन गाह्रो पर्ने गरेको छ । आगो धेरै समय नियन्त्रणमा नआउँदा कैयौँ जडीबुटी तथा बन्यजन्तुको अस्तित्व संकटमा पर्ने गरेका छन् ।