गुल्मी । ०७३ साल वैशाख १८ गते जंगलको आगो एक्कासी बस्ती पसेपछि सखाप भएको मुसिकोट नगरपालिका ४ को दजाकोट पुर्निमाणपछि चिटिक्क परेको छ ।
आगोले एकछिनमै एक व्यक्तिसहित ५७ घरगोठ र झण्डै पाँच दर्जन पशु चौपाय खरानी भए । १७ घरमा आंशिक क्षति पुग्यो । खानेपानीका पाइपहरु जलेकाले खानेपानी नभएर काकाकुल बन्ने अवस्था आयो । पीडित कैयौ समय पालमै बसे । देश तथा बिदेशबाट राम्रै सहयोग जुटेकाले पुर्निमाणको काम सुरु भयो ।
करिब तीन बर्षमा पुन:र्निमाणको काम सकिएको छ । घरमै पानी पनि आएकाे छ । दजाकोटवासीका लागि यी कुरा पीडा बिर्साउने माध्यम बनेका छन् ।
दजाकोटकी काली कुमारी गाहाका घरगोठसहित १५ बाख्रा, एक हल गरु, दुई भैसीसहित सवै सम्पति आँखा अगाडीनै ध्वस्त भए । कैयौ समय दुख पाइन् । अहिले चिटिक्कको घर बनाएकी छन् । सम्पती जोडिदै गएपछि बाध्य भएर बिगत बिर्सनुपर्ने अवस्था रहेको गाहाले सुनाइन् । सोहि ठाउँकै सावित्रा गाहाको पनि ६ कोठे घरसंगै सवै सम्पति आगोमा जल्यो । अझै घर बनाएको ॠण भएकाले पुरानो याद आउने सावित्राले बताइन् ।
पहिले गाउँमा होंचा, कच्ची र खरे घर धेरै थिए । गाउँमा धेरै घर खर र कच्ची भएर पनि आगोले धेरै क्षति ग¥यो । पहिलेदेखिनै दजाकोटमा खानेपानीको संकट भएकाले आगोलागीपछि केहि परिवार बिस्थापित हुने अवस्थामा पुगे । पुर्ण क्षती भएका ४२ र आशिंक क्षति भएका ९ भुकम्परहित पक्की घर तीन किसिममा निर्माण भएका छन् । दजाकोटमा क्षति भएका घरको पुर्निमाणसंगै झण्डै दुई करोडको लागतमा लिफ्ट सिस्टमबाट घरघरमा खानेपानी पुराइएको छ ।
सम्पतीसहित गाउँमा पिउने पानी समते नहुँदा बिस्थापित हुने मानसिकतामा पुगेका परिवारलाई पनि पुर्निमाण र खानेपानी घरघरमा आएपछि खुसी मिलेको मुसिकोट नगरपालिकाका कार्यपालिका सदस्य हरि छन्तेलले जानकारी दिए । गुल्मी जिल्लाकै इतिहासमा आगलागीबाट सवैभन्दा ठुलो क्षति दजाकोटमा भएको थियोे । त्यसैले तत्कालिन समयमा स्वदेश तथा बिदेशबाट राम्रै सहयोग संकलन भयो । जुन सहयोगबाट पुर्निमाणको काम सकिएको छ । अग्नी स्मृती स्मारक र अकलादेविको मन्दिर निर्माणको काम बाँकी रहेको छन्तेलले जानकारी दिए । मुसिकोट नगरपालिकाले वडागाउँ दजाकोटलाई होमस्टेका रुपमा अगाडी बनाउने योजना बनाएको मेयर सोमनाथ सापकोटाले बताए । उनले आफुहरु पुर्निमाणमा प्रति घर एक लाख सहयोग गरेको बताउँदै खानेपानीको पहुँच पनि स्थापित गरेकाले होमस्टे, पशुपालन र कृषि मार्फत दजाकोटबासीलाई आर्थिक रुपमा पनि अगाडी लैजाने बताए ।
दाजकोटमा पहिले अस्थायी मुलबाट ६ महिना मात्रै पानी पुग्थ्यो । दजाकोटबासीलाई हिउँदभर पानीका लागि खोल्सा र पँधेरा पुग्नुपर्ने बाध्यता थियो । स्थानीयले खानेपानीको चरम संकट हुँदा प्रति लिटर २ रुपैयाँमा टयाक्टरमा पानी बोकेर पनि खाए । प्रयाप्त खानेपानी नभएकै कारण आगलागीको ठुलो क्षति व्यर्होनु प¥यो । तर, अहिले सवैको घरघरमा पानीका धारा छन् । डेढ बर्ष पहिलेसम्म उज्यालो नहुँदै पानी बोक्न पधेँरा जानुपर्ने बाध्यताले जीन्दगी निकै कष्टपूर्ण रहेको स्थानीय ७३ बर्षीया राजमााया पुनले स्मरण गरिन् । अहिले घरघरमै पानी आउँदा सपना जस्तै लागेको पुनको भनाई छ । भग्लामगैरा–दजाकोट लिफ्ट खानेपानी तथा सरसफाइ योजना मार्फत एक सय १८ घरमा एक घर एक धारा संचालन भएका छन् ।
६५ हजारका दुई र १ लाख लिटरका एक ट्यांकी निर्माण गरेर खानेपानीको व्यावस्थापन गरिएको निर्माण समिति अध्यक्ष देब बहादुर दर्लामीले जानकारी दिए । पहिले स्थानीयले अस्थायी पधेरा व्लाङ्दी, खोलाङ्दी र धारापानी लगायतका ठाउँबाट खानेपानी ल्याउने गर्थे । प्रति घर ७० दिन श्रमदान र १० हजार, ६५ लाख पुर्व सांसद गोकर्ण बिष्टको स्थानीय पुर्वाधार अन्तरगत र ९० लाख प्रदेश सरकार बाट गरेर झण्डै २ करोडको लागतमा खानेपानी योजना निर्माण भएको दर्लामीले बताए । पानी आएपछि स्थानीयको दैनिकै फेरिएको छ । पहिले काकाकुल जस्तै बनेका स्थानीयले अहिले घर नजिक तरकारी गर्ने, सरसरफाईमा ध्यान दिने र पानी बोक्ने समय अन्यत्रै लगाउन थालेको स्थानीय ज्योति घर्ति गाहाले बताइन् ।