बुटवल- लुम्बिनी प्रदेशका तराइ जिल्लामा एक दुइ दिन यता बदली भइ अहिले कुहिरो लागिरहेको छ। घाम नलागेर कुहिरो लागेको कारण चिसो बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार भैरहवामा आज विहानको तापक्रम १०.१ डिग्री सेल्सीयस रहेको थियो।
लुम्बिनी प्रदेशमा अझै ३ दिन राम्रोसँग घाम नलाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देखिएको हुस्सु र कुहिरो हटे पनि घाम लाग्ने सम्भावना कम भएको मौसमविद प्रतिभा मानन्धरले लुम्बिनी टाइम्सलाई बताइन। ‘पश्चिम तिरबाट विस्तारै कुहिरो हट्दै गएको छ। हावाको बहाव पनि चलेको छ।’ उनले भनिन् ‘तर कुहिरो हटेपनि आंसिक बदली जारी नै रहन्छ।’ मौसम पूर्वानुमान महाशाखाले ३ दिनसम्मको अवस्थाको अनुमान गर्ने गर्दछ। त्यसपछिको अवस्था भोली पर्सि क्रमश अनुमान गर्न सकिने मानन्धरले बताइन्।
स्थानीय वायुको प्रभावले विहिवारसम्म देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने महाशाखाको भनाइ छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ। तत्कालै ठूलो पानी पर्ने सम्भावना भने नरहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।