दाङ । माघे संक्रान्तीमा लाग्ने मेला तथा महोत्सवमा रोक लगाइए पनि दाङका थारु वस्तीमा माघी पर्वको रौनक छाएको छ । थारु समुदायले माघीलाई नयाँ बर्षको रुपमा मनाउने भएकाले पनि यसको महत्व झनैं बढेको हो ।
सरकारले पनि थारु समुदायको माघीलाई लक्षित गर्दै लुम्बिनी प्रदेशमा माघ १ र २ गते गरी दुई दिन सार्वजनिक विदा दिएको छ ।
‘माघ’ पर्वको तयारी महिना दिन अगाडिबाटै सुरु हुन्छ । खानाका परिकारहरू पकाउनका लागि काठ, दाउरा,अनदीको चामलको गुलियो जाँड, रक्सी, वनबाट मालु र सालको पात टिपेर ल्याइ दुना, टपरी बनाउने गरिन्छ । यो पहिलो चरणको तयारी हो ।
यस पटक थारु समुदायको मुख्य चाड माघीलाई कोभिड–१९ ले प्रभाव पारेको छ । गाउँमा ठूलो जमघट तथा मेला महोत्सव लगाउन रोक लगाइएको छ । घर परिवारमा स्वास्थ्य सावधानी अपनाएर पर्व मनाउन अनुरोध गरिएको छ ।
माघीकाे अघिल्लाे दिन आज ‘जिता मार्ना दिन’ अर्थात सुंगुर मार्ने चलन छ । रातभर ढमार गित गाएर जाग्राम बस्ने परम्परा छ । यो परम्परा नयाँ पुस्तामा हस्तान्तरण हुन सकेको छैन ।
‘बुढा पुरानाले ढमार गाउने गर्छन । रातभर जाग्राम बस्ने र विहान नुहाउने चलन छ’थारु पत्रकार छविलाल कोपिलाले भने–‘पुरानो संस्कार यथावत छ । तर, नयाँ पुस्तामा हस्तान्तरण पनि जरुरी छ ।’
माघ १ गते खोला, नदी, तलाउमा स्नान गर्ने, चेलिवेटीको लागी निसराउ(मासको ताल, चामल र नुन’ निकाल्ने गरिन्छ । त्यसपछी सेवा ढोग लाग्ने र आशिर्वाद लिने चलन छ ।
माघ १ गते बाट थारु समुदायमा नयाँ बर्षको सुरुवात हुन्छ । बर्षभरीको पारिवारीक र गाउँको सार्वजनिक योजना बनाउने गरिन्छ । यो प्रचलन अझैं छ ।
परिवारमा छुट्ट भिन्न हुने टुंगो पनि यसैबेला गरिन्छ । गाउँमा अगुवा, कट्कन्दार, भलमन्सा चुन्ने पनि गरिन्छ । यो लोकतन्त्रीक प्रकृया थारु समुदायमा बर्षौं अघीबाट चल्दै आएको छ । अहिले पनि चलिरहेको छ ।
थारु संस्कृतीका अध्ययनकर्ता उदयराज आलेले थारु समुदायको परम्परा मान्ने चलनमा सुधार आएको बताए । ‘परम्परागत रुपमा मान्दै आएको चलनमा केही सुधारहरु आएको छ । सुधार भन्नाले अत्याधिक मादक पदार्थ सेवन र अत्याधिक माछा मासु खाने प्रचलनलाई केही सुधार गरेको पाईन्छ’उनले भने–‘ विगतमा जस्तो दुःख छैन् । जाड रक्सीमा धेरै अन्न खर्च गर्ने चलन थियो । थारु समुदायमा माछा मासु नखाने पूर्ण शाकाहारी अभियान पनि चलेको छ । व्यवस्थीत किसिमले ‘माघ’मान्न थालेका छन् । यो राम्रो हो ।’
परम्परालाई मान्दै र सुधार पनि गर्दै जाने दुवै कुरा राम्रो भएको तर्क उनकाे छ ।