दाङ । लमही बजार नजिकको क्रिकेट मैदानको एक कुनाको घरमा भुइँचालो क्षति पु¥याएको सुचना आयो । मानिस घर भित्रै घाइते अवस्थामा रहेको खबर पछि सुरक्षा निकायको टोली घटनास्थलमा पुग्यो । सशस्त्र प्रहरीको टोली उद्दारमा खटियो । गम्भीर घाइते लाई एम्बुलेन्समा राखियो । सामान्य घाइतेलाई सुरक्षित स्थानमा सारियो । केही समय पछि अवस्था सामान्य बन्यो ।
नआत्तिनुहोस्, यो दृश्य राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा दाङकाे लमहीमा सशस्त्र प्रहरीले गरेको अभ्यासको क्रममा देखिएको हो । आज शुक्रबार परेको २३ औं दिवसको अवसरमा अभ्यास मार्फत भुइँचालोको जोखिमबाट जोगिने उपायको बारेमा सशस्त्रले सचेतना प्रदान गरेको छ ।
लमही नगरपालिकाले सशस्त्र प्रहरी बल नेपाल ४१ नम्बर गण हेड क्वाटर अर्जुन खोला, सशस्त्र प्रहरी बल नेपाल २९ नम्बर गण हेड क्वाटर ज्वालामाइ गण र नेपाल रेडक्रस सोसाइटी संगको सहकार्यमा अभ्यास गरिएको हो ।
‘अभ्यासले भूकम्प आयो भने नआत्तिई सुरक्षित स्थानतर्फ लाग्नुपर्ने सिकेँ,’ अभ्यासको दृश्य नियालीरहेका लमहीका युवा सुमन कालाथोकीले भने–‘भुकम्पबाट हुने क्षतिबाट बच्न सकिदो रहेछ ।’
भुकम्प आफैंले मानिसको ज्यान लिने भन्दा पनि मानिसले बनाएको संरचनाको कारणले गर्दा मानविय क्षति हुने गरेको छ । ८० देखि १०० बर्षको अन्तरालमा ठूलो भुकम्प जाने गरेको छ । हरेक दिन जसो पराकम्प जाने गरेको छ ।
सघन शहरी भवन निर्माण आयोजना दाङका प्रमुख शचिन्द्रकुमार देवले घर नक्सा पास गरेर सुरक्षित घर निर्माण गर्न सल्लाह दिए ।
‘भुकम्पलाई रोक्न सकिदैन । यस बाट बच्न सुरक्षित आवास चाहिन्छ ,’ उनले भने–‘खुला स्थानमा छौं भने खुला ठाउँमा सुरक्षित हुनुपर्छ । घर भित्र छौ भने घर भित्रै सुरक्षित हुनुपर्छ ।’
मापदण्ड अनुसार बनाएको घर मात्रै सुरक्षित रहने उनले बताए । कमजोर घर सुरक्षित हुदैन । लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा प्रत्येक्ष अभ्यास गरिएको थियो ।