दाङ । मानब बेचबिखन मुद्दामा लुम्बिनी प्रदेशसभा सदस्य बिमला वलीलाई अदालतले बिगो भराउने फैसला सुनाएको छ ।
अमेरिका पठाउने भन्दै बेचबिखन गरेको आरोपमा पीडित नरेन्द्र बस्नेतले मानब बेचबिखन ब्युरो काठमाडौं मार्फत काठमाडौं जिल्ला अदालतमा लुम्बिनी प्रदेशका तत्कालिन सांसद उत्तम कुमार वलीबिरुद्ध मुद्धा दायर गरेका थिए । उक्त मुद्दामा फैसला सुनाउँदै अदालतले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोकेको छ । तर, उत्तरकुमार वलीको मृत्यु भइसकेकाले उत्तमकी पत्नी प्रदेशसभा सदस्य विमला ओलीले २५ लाख रुपैयाँ बिगो तिर्नुपर्ने फैसला अदालतले गरेको हो ।
पतिको मृत्युभएपछि उपनिर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट बिमला प्रदेश सभा सदस्य बनेकी थिइन् ।
अर्का अभियुक्त घोराही–१४ मिलनचोक निवासी टोपबहादुर जिसीलाई २ वर्ष कैद र १२ लाख रुपैयाँ बिगो भराउने र मतियारको भूमिकामा देखिएका तुलसिपुर निवासी मुकुन्दराज जीसीलाई एक वर्ष कैदको फैसला गरेको छ।
अदालतका अनुसार उनीहरु तीन जनाकै संलग्नतामा नरेन्द्रलाई अमेरिका पठाउने योजना बुनिएको थियो। पीडित बस्नेतलाई अबैधरुपमा अमेरिका पठाउन इक्वेडर, कोलम्बिया हुँदै पानामा लगियो। पानामाबाट ६ दिन जंगलको बाटो हिँडाएर कोस्टारिका हुँदै निकारागुवा पु¥याए। होन्डुरस हुँदै ग्वाटेमाला लगेपछि उनलाई फेरि अलपत्र पारियो।
जेनतेन अमेरिका पुगेपछि उनी जेल परेका थिए । १७ महिना जेल बसेर नरेन्द्र नेपाल फर्किए र आफूलाई फसाउनेहरुमाथि मुद्दा दायर गरेका थिए ।
पुस १९ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश बद्रीप्रसाद ओलीको इजलासले अभियुक्तलाई दोषी ठहर गर्दै सजाय तोकेको हो । तर, अदालतले बिगोको आधा अर्थात् ३७ लाख रुपैयाँ मात्रै बिगो भराउने फैसला गरेको भन्दै पीडित बस्नेत उच्च अदालत जाने प्रतिक्रिया दिएका छन् ।