गुल्मी- जिल्लाको चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका शौभाग्य शाहाको बाख्रा फर्ममा आगलागी गर्ने व्यक्तिहरुको अझै पत्ता लागेका छैनन्। तर, किसान माथिको प्रहार भने रोकिएको छैन। फेरि जिल्लाकै मालिका गाउँपालिका ७ घमिरमा मुमानन्द लम्सालको केरा फँडानी भएको छ। लम्सालले ४ रोपनी बारीमा केरा खेती गरेका छन्। नचिनेका व्यक्तिहरुको समुहले लम्सालका १० थान केरा काटिदिएको मुमानन्दका छोरा नविन लम्सालले जानकारी दिए।
रातिमा पसाएको ६, नपसाएको ४ थान केरा र ४० एमएमको पाइप काटिदिएको पीडित लम्सालले बताए। उनले गहुँ, तरकारी र केरामा सिंचाई गर्न प्रयोग गरेको पाइप काटेर स्प्रिङकल लगेर गएको बताए। दुई बर्ष अघि पनि पाँच÷सात थान केरा काटेका थिए। अहिले पनि सोहि अवस्था दोहोरिएपछि गाउँमा काम गरेर खाने स्थिती नभएको पीडित परिवारको गुनासो रहेको छ। मुमानन्द लम्साल मलेसियाबाट फर्किएर गाउँमै व्यावसायीक कृषि खेती थालेका छन्।
उनले अहिले घरमा बाख्रा र कुखुरा पालन तथा केरालाई व्यावसायीक रुपमा अगाडी बढाएको बताए। ‘कोभिडले बिदेशको रोजगारी गुम्यो गाउँमा गरेर खाने स्थिती पनि भएन,‘लम्सालले भने,’किसान माथीको प्रहार निरन्तर किन भइरहेको छ।’ उनले क्षति सानो ठुलो भएपनि प्रवृति निरुत्साहित गर्न स्थानीय सरकार र प्रहरी प्रशासनले चासो दिनुपर्नेमो जोड दिए।
पीडित परिवारले वडा कार्यालय र मरभुङ प्रहरीचौकीमा उजुरी दिएका छन्। तर, अहिलेसम्म घटनामा संलग्न पत्ता लागेका छैनन्। मरभुङ प्रहरीचौकी इन्चार्ज मेख बहादुर चौहानले शंकास्पद व्यक्तिहरुको अनुसन्धान भइरहेको बताए।