दाङ । दाङको लमहीमा विहानैदेखि लागेको कुहिरो दिउँसोको प्रहरमा घामले हटायो । माघेसंक्रान्ति मनाउन घर आएका मजदूर र उनीहरुका परिवार केही फूर्सदिला थिए । पारिलो घामले उनीहरुलाई झनै उत्साहित बनायो ।
लमही नगरपालिका–४ अर्नहवा निवासी कमल कुमाल, उनकी छोरी सिमा लगायत अन्य साथिहरु मिलेर माछा मार्ने योजना बुने ।उनीहरुमध्ये धेरैले इट्टा भट्टीमा काम गर्छन् । काम नहुँदा अथवा पर्वहरुमा उनीहरु घर फर्कन्छन् र घरमा नै रमाउँछन् ।
त्यसपछि घर छेउको पानी रहेको ठाउँमा माछा मार्न पसे । कसैले पानी फाले । कसैले हिलो भित्र माछा खोज्न थाले । बालबालिका माछा छोप्दै रमाइलो गर्न थाले ।
भोली त भट्टामा फर्किनु नै छ । तर, आज उनीहरुले रमाइलोको लागि माछा मारिरहेका छन् ।
कमलले भने–‘चाडपर्व मनाउन घर आएका हौं । यो समयमा परिवार संग रमाइलो गरि बिताउने हो । त्यहीँ भएर माछा मार्न थालियो ।’ उनकी छोरी विद्यालय जाने उमेरकी छिन् । लकडाउनअघि विद्यालय जान्थिन् । तर, अहिले विद्यालय जान छाडेकी छिन् । ‘२ सम्म पढेँ । अब भट्टामा बुवा–आमासँगै जान्छु,’ सिमाले भनिन्–‘आज त माछा मार्दै छु ।’
सबै तस्वीर: दशरथ घिमिरे