बुटवल-बलात्कारपछि हत्याप्रयास भएकी रुपन्देही तिलोत्तमाकी पाँच वर्षिया बालिकाको उपचारका लागि रकम अभाव भएको छ।
उनी ५ दिनदेखि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचाररत छन्। अस्पतालमासँगै रहेकी बालिकाकी आमाका अनुसार उनको यौनाङ्गमा गहिरो चोट छ भने अनुहार पनि उस्तै विभत्स भएको छ।
गालामा धारिलो हतियारले काटेर मासु निकाले जस्तो डरलाग्दो चोट लागेको छ। ओठ र आँखाको परेला च्यातिने गरी घाउ बनेको छ।
अस्पतालको बेडमा उनी अधिकांश समय बेहोसी अवस्थामै रहेकी छिन्। छिनछिनमा बिउँझिदा चिच्याँउने र छट्पटाउने गरेको उनकी आमा बताउँछिन। माघ २ गते काठमाडौं पुर्याइएकी बालिकालाई आइतबार दिउँसो आइसीयुबाट जनरल वार्डमा सारिएको बालिकाकी आमाले बताइन्।
‘छोरीलाई आइसीयुबाट अर्को कोठामा सारेका छन्। शरिरभरि घाउ नै घाउ छन। घरीघरी दुख्यो भनेर चिच्याउँछे। अप्रेसन गरेपछि अब त बाँच्छे की भन्ने लागेको छ’-उनले टेलिफोनमा भनिन्।
बालिकाको उपचारका लागि रकम अभाव भएको उनले बताइन्। दैनिक ज्यालादारी गरेर गुजारा गर्ने दम्पत्तीको सम्पत्तीको नाममा एक तले घर मात्रै छ।
घटना लगत्तै छोरीलाइ उपचारका लागि काठमाडौं लैजाँदा आफन्त र छिमेकले ऋण धन गरेर दिएको पैसा सकिन लागेको बालिकाका बुवाले बताए। छोरीको पीरले बाबुआमा भोकभोकै बसेपनि पैसा सकिएपछि काखे नानीलाइ केले दुध किनेर खुवाउने भन्ने चिन्ता थपिएको उनीहरुसँगै रहेका एक आफन्तले गुनासो गरे।
स्थानीय विद्यालयको एक कक्षामा पढ्ने ५ वर्षिया ती बालिका माघ १ गते स्थानीय एक व्यक्तिबाट बलात्कारको सिकार भएकी हुन्। बलात्कारमा संलग्न २८ वर्षे होमबहादुर बिकलाई प्रहरीले सोही दिन पक्राउ गरेको छ। अभियुक्त कपिलवस्तुको वाणगंगा १२ घर भइ तिलोत्तमा स्थित हिरालाल मल्लाहको घरमा कामदारको रुपमा बस्थे।
पसलमा सामान किन्न गएकी बालिकालाई बिकले चकलेट दिने भन्दै फकाएर झाडीमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण पोखरेलले बताए।
उनी साँझ पाँच बजेतिर बालिका सामान लिन पसलमा गएकी थिइन। पौने घण्टासम्म छोरी नफर्केपछि आमाले खोजी गर्दा गाँउमा नभेटिए पछि आफन्तले झाडीतिर खोज्दै जाँदा बाँसको झाङ्गमा बालिका अर्धमुर्छित अवस्थामा भेटिएकी थिइन। रगताम्मे भएकी बालिकाको यौनांग, ओठ, आँखा, गाला, घाँटीमा डरलाग्दा चोट लागेका छन्।
बालिकाका मामाका अनुसार छाती र घाँटीमा थिचेको जस्तो निशान थियो। बालिकालाई तत्कालै भैरहवा स्थित मेडिकल कलेज लगेपनि त्यहाँबाट लुम्बिनी प्रादेशिक अस्पताल र लुम्बिनीले तत्कालै काठमाडौं रेफर गरिदिएको थियो।
अहिले बालिका खतरामुक्त रहेपनि स्वास्थ्य अवस्था गम्भिर नै रहेको अस्पतालका चिकित्सकलाई उदृत रुपन्देहीका प्रहरी प्रमुख पोखरेलले बताए। ‘अप्रेसन पछि बालिकाको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी पाएका छौं’-एसपी पोखरेलले भने।
अभियुक्त बिकले बलात्कारपछि हत्या गर्ने मनसायले आक्रमण गरेको देखिएको प्रहरीले जनाएको छ।
नाबालिका बलात्कार र ज्यानै मार्नेसम्मको अपराध गर्नेलाई आजीवन काराबासको सजाय हुनुपर्ने माग परिवार र आफन्तले गरेका छन्।
बालिकाका आफन्त र गाउँलेले अभियुक्तलाई कडा कारबाहीको माग गर्दै आइतबार जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका थिए भने अरु अधिकारवादी संस्थाहरुले पनि कडा कारबाहीको माग राख्दै दबाब दिइरहेका छन्।
होमबहादुरका गलत क्रियाकलापलाइ ढाकछोप गरी संरक्षण गरेको भन्दै स्थानीयले हिरालाल मल्लाहलाई पनि कारबाहीको माग गरेका छन्।
होमबहादुरको चालचलन पहिलेदेखि नै ठिक नभएकाले गाँउमा नराख्न स्थनीयले गरेको आग्रहलाइ बेवास्ता गर्दा पाँच वर्षे बालिका जघन्य अपराधको सिकार भएको भन्दै गाँउलेले हिरालाललाई कारबाहीको माग गरेका हुन्। स्थानीयको दवावपछि प्रहरीले हिरालाललाइ घटनाको तीन दिन पछि नियन्त्रणमा लिएको छ।
बिकलाइ केही वर्षदेखि हिरालालले कामदारको रुपमा घरमा आश्रय दिएका थिए। अभियुक्त बिकले यस अघिपनि पटक पटक महिला, बालबालिकहरुलाई जिस्काउने, संवेदनशिल अंगमा छुन खोज्ने, रक्सीको बहानामा अश्लिल शब्द बोल्ने क्रियाकलाप दोहोर्याएपछि गाउँमा नराख्न आग्रह गरेका थिए।
‘घटना घटाएपछि पनि बिक हिरालालसँगै आगो तापेर बसेको थियो उसँग सोध्न खोज्दा आफ्ना छोरीचेलीको सुरक्षा गर्न सक्दैनौ यसलाई दोष दिन्छौ भनेर हिरालालले हामीलाई नै धम्काए’-बालिकाका मामाले भने।