दमौली - नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत भएका छन् । शाखाको आज आयोजित बाह्रौँ साधारणसभाका अवसरमा महासङ्घमा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, ‘टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार’ र ‘भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ पूर्वाध्यक्षलाई प्रदान गरिएको हो ।
सुरज गुरुङ पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको हो । उक्त पुरस्कारको राशि जनही रु पाँच हजार छ । टीकानिधि पुरस्कार–२०७५बाट विश्वबन्धु भण्डारी र २०७६ बाट प्रदीप काफ्ले पुरस्कृत भएका हुन् । उक्त पुरस्कारको राशि जनही रु दश हजार छ । यसैगरी भर्लेली पुरस्कारबाट प्रेमप्रसाद पौडेल पुरस्कृत भएका हुन् । उक्त पुरस्कारको राशि रु दश हजार छ ।
तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु¥याएबापत उनिहरुलाई पुरस्कृत गरिएको शाखाका अध्यक्ष ॐकार आचार्यले जानकारी दिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उनिहरुलाई नगदसहित सम्मानपत्रले पुरस्कृत गर्दै पत्रकारिता क्षेत्रको प्रबद्र्धनका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पत्रकार शहरमुखी मात्रै हुन नहुन आग्रह गरिन्।
१७१ भायल कोभिड भ्याक्सिन
कोभिड–१९ विरुद्धको १७१ भायल खोप तनहुँमा आइपुगेको छ। भारत सरकारले सहयोग स्वरुप नेपाल सरकारलाई केही दिन अगाडि कोरोना भाइरसको दश लाख मात्रा खोप उपलब्ध गराएको थियो। सो खोप सरकारले जिल्ला जिल्लामा पठाउन शुरु गरेको छ । खोप प्रमुख जिल्ला अधिकारी सागर आचार्यले दमौली अस्पतालका प्रमुख डा. सुनिल पौडेल र स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीलाई आज हस्तान्तरण गरे ।
स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले स्वास्थ्य र सरसफाइ र शव व्यवस्थापनमा खटिने सुरक्षाकर्मी तथा एम्बुलेन्स चालकलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाइने जानकारी दिए। उनका अनुसार एक भायलबाट दश जनालाई खोप लगाउन सकिन्छ। रासस