गुल्मी । कुनै पनि राजमार्ग तथा सहायक राजमार्ग उपयोग गरेबापत कुनै शुल्क लिन नपाइने कानुनी व्यवस्था छ । तर, पाल्पाको तानसेन नगरपालिकाले स्थानीय पुर्वाधार सडक उपयोगको नाममा मनोमानी शुल्क लिइरहेको छ ।
पाल्पाको बतासे र होलाङदीमा नगरपालिकाले केहि समयदेखि शुल्क उठाउँदै आएको छ । गुल्मी र पश्चिम बाग्लुङ जाने निजी तथा सार्वजनिक सवारीका साधनसंग नगरपालिकाले धमाधम शुल्क उठाउन थालेपछि गुल्मीका व्यावसायी आन्दोलित भएका छन् ।
सोहि बिषयलाई लिएर मंगलबार गुल्मी उद्योग बाणिज्य संघले प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा मार्फत पाल्पाका प्रमुख जिल्ला अधिकारी र तानसेन नगरपालिकालाई ध्यानाकर्षण गराएको छ । तानसेन नगरले आफ्नो स्वार्थमा ऐन कानुन बिपरित सयौ सवारी साधनसंग शुल्क असुल्न तत्काल बन्द गर्नुपर्ने बाणिज्य संघको माग रहेको छ ।
नगरको मनोमानी तत्काल बन्द नगरे शुल्कको अवज्ञा गर्नुका साथै पाल्पानै पुगेर आन्दोलन गर्ने गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीले बताए ।
‘यो पाल्पाले गुल्मेलीलाई हेपेको पहिलो उदाहरण होइन,’भलामीले भने,‘पाल्पा प्रशासन र तानसेन नगरको ध्यानाकर्षण नभए सशक्त आन्दोलन गर्छौ ।’
गुल्मीबाट पाल्पा हुँदै दैनिक सयौ गाडी आवतजावत् गर्छन् । आउँदा र जाँदा रुपमा हलुका २० र हेभि सवारी साधनबाट तानसेन नगरपालिकाले ४० रुपैयाँ उठाएको उद्योग बाणिज्य संघका महासचिव तारा भुसालले बताए ।
‘तानसेनले जस्तै प्रत्येक स्थानीय तहले शुल्क उठाए काठमाण्डौ पुग्ने सवारीले के कमाउँछ,’भुसालले भने,‘ब्रह्मलुट तत्काल बन्द होस् ।’
गुल्मीको रुरु क्षेत्र गाउँपालिकासंग तानसेनको सिमा पर्छ । वुटवलतर्फ तिनाउ गाउँपालिका छ । बरतुङबाट स्याङजा, कास्की, पर्वत र बाग्लुङ जाने अर्को राजमार्ग छ । तर, तानसेन नगरपालिकाले गुल्मी र पश्चिम बाग्लुङका नागरिकलाई हेपेर बतासे र होलाङदीमा मात्र स्टेशन राखेर कर उठाउँदै आएको महासचिव भुसालले बताए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले विधि र परिधी मिचेर कर ल्याउन नपाइने भएकाले पाल्पा प्रशासनसंग समन्वय गरेर समस्या समाधानको पहल गर्ने बताइन् । तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले होलाङदी–बसपार्क–बतासे सडक राजपत्रमा स्थानीय शहरी सडक भनेर प्रकाशन भएकाले ऐन कानुन बमोजिम शुल्क उठाएको बताए । ‘अरुले के गर्छन त्यो सरोकारको बिषय भएन खाल्डा परे नगरपालिका घेर्न आउने तर कर तिर्दैनौ भन्ने परिभाषा ठिक भएन,’उनले भने,‘निर्णय पुर्नबिचारको बारेमा छलफल भइरहेको छ ।’