बुटवल । बुटवल राजमार्ग चौराह–चिडिया खोला सडकखण्ड विस्तार गर्न बुधबार संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका छन् । साढे तीन किलोमिटर सडकखण्डलाई विस्तार गरी ६ लेनमा विकास गर्न लागिएको सडकको अर्थमन्त्रीले शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै नेकपा ओली पक्षका महासचिवसमेत रहेका नेता पौडेलले अनुशासित, जनता र राष्ट्र प्रति उत्तरदायी प्रतिनिधिसभा बनाउका लागि सरकारले निर्वाचनमा जाने निर्णय गरेको बताए । नेता पौडेलले आफ्नै पार्टीबाट छापामार शैलीमा सरकार विरुद्ध अविश्वासको प्रस्ताव बोक्दै हिँडेकाले संसद विघटन गर्नु परेको बताए । उनले प्रतिपक्षले भन्दा बढी आफ्नै पार्टीले सरकारलाई जनमुखी काम गर्न बाधा ब्यवधान हालेको आरोप लगाउंदै निर्वाचनबाट आफुहरुले भने जस्तै संसद बन्ने बिश्वास ब्यक्त गरे ।
२०७३ सालमा ठेक्का सम्झौता भएर बेलहियादेखि बुटवल राजमार्ग चौराहासम्मको सडक बनिसकेको भएपनि चौराहदेखि चिडियाखोलासम्मको सडक अदालतका कारण रोकिएको थियो । सर्बोच्च अदालतको एक इजलाशले केही हप्ता अगाडि सडक सीमा क्षेत्रमा रहेका घर नभत्काउने अन्तरिम आदेश मानिराख्नु नपर्ने ठहर गरेपछि सडक विस्तार गरिरहेको ‘बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजना’लाई सडक सीमाका घर भत्काउने बाटो खुलेको थियो । हाल सडक सीमाका करिब सबै घर तथा टहराहरु भत्किने क्रममा छन् ।
सडकको शिलान्यास गर्दै अर्थमन्त्री पौडेलले सडक बिस्तारका क्रममा घर भत्काउन बाध्य घरधनीहरुलाई धन्यबाद ब्यक्त गर्दै पौडेलले विकासमा घरधनीहरुको योगदानको स्मरण गरिने बताए । मुलुक विकासको गतिमा अगाडी बढीसकेको दाबी गर्दै अवका केहि वर्षमा बुटवल बिश्वमै सुन्दर शहर बन्ने बताए । उनले ४÷५ हप्ता भित्रै सिद्धबाबा सुरु«मार्गको टेण्डर खुल्ने कुरा दोहोर्याए । उनले बुटवल-नारायणगढ, बुटवल-धानखोला र बुटवल-पोखरा आधुनिक सडक सञ्जालमा छिटै जोडिने जानकारी दिए ।
बुटवलको राजमार्ग चौराहा देखि चिडिया खोला सम्मको साढे ३ किलोमिटर सडक निर्माणका लागि २०७३ सालमा ४७ करोड २७ लाखमा ठेक्का सम्झौता भएपनि उक्त ठेक्का यहीँ मंसिर मसान्तमा सकिएको थियो । ४ लेन सडक अन्तर्गत सडकको दुबै तर्फ ५÷५ मिटरको सर्विस लेन सहितको सडक २०७९ साल बैशाख मसान्तसम्म विस्तार गरिसक्न म्याद थपिएको छ ।
एकैदिन तीन पुल उद्घाटन
बुटवलका तिनाउ र दानव नदीमा निर्माण सम्पन्न भएका ३ ठूला पुलको अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन् । बुधवार तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा रहेको पुल उद्घाटन गरेको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरले जानकारी दिए।