बुटवल . संघीय सरकारका अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीका तीन ठूला पुलको एकैदिन उद्घाटन गरेका छन् ।
मंगलबार गृहजिल्ला रुपन्देही आएका मन्त्री पौडेलले बुटवल उपमहानगरपालिकाका तिनाउ र दानव नदीमा निर्माण सम्पन्न भएका तीन वटा पुलको उद्घाटन गरेका हुन् ।
तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल, देवीनगरस्थित तिनाउ पुल र नयाँगाउँस्थित दानव नदीमा रहेको पुल उद्घाटन गरिएको डिभिजन सडक कार्यालय बुटवलका सूचना अधिकारी ई. कृष्ण कुँवरले जानकारी दिए ।
देवीनगरस्थित हात्तीसुँडमा रहेको तिनाउ पुल ११ करोड ९३ लाख लागतमा निर्माण भएको हो । ११० मिटर लम्बाई ११ मिटर चौडाई रहेको यो पुलको निर्माणको जिम्मा लुम्बिनी अरनिकोले पाएको थियो । २०७२ असार ३० मा निर्माण शुरु भएको यो पुल २०७६ माघ ५ गते निर्माण सम्पन्न भएको हो । यसको निर्माण जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।
तिनाउ नदीमा रहेको मगरघाटस्थित तिनाउ पुल २१ करोड ४९ लाख लागतमा निर्माण भएको हो । २०७३ असार २९ गते निर्माण शुरु भएको सो पुल २०७६ माघ २८ गते सम्पन्न भएको थियो । कंक्रिट प्रि स्टेट प्रविधिमा बनाइएको सो पुल लुम्बिनी बिल्डर्सले निर्माण गरेको हो । १८० मिटर लम्बाई र ११ मिटर चौडाई रहेको सो पुलको जिम्मेवारी पुल योजना पश्चिम क्षेत्र सेक्टर ४ पाल्पाले लिएको थियो ।
नयाँगाउँस्थित दानव नदीको पुल ६ करोड ६५ लाख लागतमा निर्माण भएको हो । २०६९ असार २४ गते निर्माण शुरु भएको यो पुल २०७६ भदौ ३० गते मात्रै सम्पन्न भएको हो । स्थानीयको विवादका कारण लामो समय पुल निर्माण अलपत्र परेको थियो । ९८.२५ मिटर लम्बाई र ७.२ मिटर चौडाई रहेको यो पुल लुम्बिनी बिल्डर्सले बनाएको हो भने यसको जिम्मेवारी सडक डिभिजन कार्यालय बुटवलको रहेको थियो ।