बुटवल । नायीका मनिषा कोइरालाले तिलोत्तमा नगरपालिकास्थित कोटिहवामा बलात्कृत पाँच बर्षीय बालिकाको उपचार खर्च बेहोर्ने घोषणा गरेकी छन् । उनले उपचार खर्चसहित बालिकाको पढाइ खर्च र बालिकाका परिवारलाई समेत आर्थिक सहयोग गर्ने घोषणा गरेकी हुन् ।
राष्ट्रीय एकता आयोगले महिला हिंसाविरुद्ध काठमाडौंमा आयोजना गरेको ‘मिसन जननी जयते’ कार्यक्रममा उनले यस्तो घोषणा गरेकी हुन् ।
घरबाट पसल जादैँ गरेकी बालिकालाई २८ वर्षीय युवकले गत माघ १ गते बलात्कार गरेका थिए । अभियुक्त कपिलवस्तु बाणगंगा वडा नं १२ घर भएका हाल तिलोत्तमा नगरपालिका–१३ बबनी बसेर मजदुरी गर्ने होमबहादुर विक हुन् । बलात्कार आरोपी युवकलाई अदालतबाट म्याद थपगरी अनुसन्धानमा राखिएको छ ।
बालिका घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले खोजतलास गर्ने क्रममा तिलोत्तमा–१५ कोटिहवामा खेत नजिकै खोल्सामा बालिकालाई गम्भिर अवस्थामा फेला पारेको थियो । उनको हाल टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।