गुल्मी ।
घटना १
गुल्मीको रेसुंगा नगरपालिका १४ पराल्मीका ४५ बर्षीय तुल बहादुर विक गत माघ ३ गते बिहान ११ बजे घाँस काट्न जंगल गएका थिए । उनि कहिल्लै घर फर्केनन् । दिउँसो साढे २ बजेतिर मृत फेला परे । शरिरमा लागेको खत हेर्दा बन्दुकले लागेको भन्ने थहा हुन्थ्यो ।
गाउँमा मजदुरी गरेर परिवार पालेका विकको हत्यापछि परिवार शोकमा छन् । हत्यामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् । दिनदाहाडै भएको हत्याले स्थानीयलाई त्रसित पारेको छ । ‘मर्ने त मरिसके बाँचेकालाई पनि ठुलो डर भयो,’ एक स्थानीयले भनिन्–‘ ‘घटनामा संलग्नलाई छिटै कानुनको दायरामा ल्याउन पर्यो ।’
घटना २
इस्मा गाउँपालिका १ का मोति बहादुर कुवंरको ०७७ भदौ २१ गते बिभत्स हत्या भयो । उनको हत्या भएको पाँच महिना पुग्न लागेको छ । गुल्मी प्रहरीले अहिलेसम्म अपराधमा संलग्न व्यक्ति पत्ता लगाउन सकेको छैन् । लामो समयसम्म हत्या किन र कसले गरेको भन्ने बिषय अन्यौल भएपनि स्थानीय त्रासमा छन् ।
घटना ३
तम्घास महेन्द्र माविको कक्षा १२ मा पढ्ने इस्मा गाउँपालिका ३ का १६ बर्षीय माधव पछाईलाई ०७७ पुस २६ गते युवाको समुहले मरणासन्न हुने गरेर कुटपीट गरे । सोहि दिन प्रहरीले उजुरी लिन मानेनन् । अर्को केहि युवा फेरि पछाईको घर घेरा हाल्न पुगे ।
पीडित परिवारले जिल्ला प्रहरी कार्यालयमा घटनामा सलग्न चार जना बिरुद्ध किटानी जाहेरी दिए । त्यो मध्येका २ जना हिरासतमा छन्, भने बाँकी दुई व्यक्ति अझै फरार छन् । टाउको र शरिरका विभिन्न भागमा चोट लागेका पछाँइले लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पापछि नर्मिक अस्पताल काठमाण्डौमा उपचार गरे । जिल्लाको प्रमुख अड्डा प्रहरी प्रशासनकै अगाडी बिद्यालय पढेर निस्किएका बिद्यार्थी सुरक्षित छैनन् । ‘छोराछोरी बिद्यालय पठाएर कसरी ढुक्क हुने ? प्रशासन र न्यायलयकै मुखमा कुटिएपछि,’उनले भने,‘कल्पना गरौ गाउँमा कसरी सुरक्षित हुने ।’
घटना ४
चन्द्रकोट गाउँपालिका ३ हर्राचौरका शौभाग्य शाहको बाख्रा फर्ममा अपरिचित व्यक्तिले ०७७ पुस २३ गते आगजनी गरे । बाख्रा फर्ममा रहेका २५ बाख्रा मरेका । फर्मसहित बाख्रा जलेर ७० लाख बढिको क्षति भएपछि शाह परिवार अझै बिक्षिप्त छन् । त्यस्तै जिल्लाकै मालिका गाउँपालिका ७ घमिरमा मुमानन्द लम्सालको पनि ०७७ पुस २७ गते राति अपरिचित व्यक्तिले केरा फँडानी गरे । लम्सालले ४ रोपनी बारीमा केरा खेती गरेका छन् । १० थान केरा, पाइप र सिँचाईका सामग्रीमा क्षति गरे । तर, दुवै घटनामा संलग्न अहिलेसम्म पत्ता लागेका छैनन् ।
घटना ५
इस्मा गाउँपालिका ३ दर्लामचौरका ६४ बर्षीय राम बहादुर मुखियाको बिमार सन्चो बनाउने नाममा धामीले डामेर ०७७ पुस २९ गते मृत्यु भयो । रेसुंगा नगरपालिका १ उदिनढृङ्गा झारफुक गर्दै आएका मालिका गाउँपालिका ६ का ३८ बर्षीय राम प्रसाद श्रेष्ठ र पत्नी ३६ बर्षीया शान्तिला श्रेष्ठले डामेका हुन् । आरोपित दम्पतीलाई प्रहरीले पुस २९ गतेनै गिरफतार गरेको छ । घटनामा रेसुंगा नगरपालिका ५ की ४० बर्षीया टोपला दमाई र मृतकका छोरा ३४ बर्षीय छोरा हुम बहादुर मुखिया घाइते छन् ।
घटना ६
गुल्मीदरबार गाउँपालिका वडा नम्बर ४ का ३८ बर्षिया नारायण पाध्य शर्मा चुदाली बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०७७ मंसिर ८ गते मानव बेचबिखन बिरुद्धको मुद्धा दर्ता भएको छ । उनले ०७७ कार्तिक २६ गते स्थानीय १७ बर्षीया बालिकालाई भारत लगेका थिए । आरोपित बिरुद्ध जिल्ला अदालतले मंसिर १० गते पक्राउ पुर्जी समेत जारी ग¥यो । तर आरोपित गाउँमै डुलेर बस्दासमेत प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन ।
यी त ठूला घटना हुन् । यीबाहेक मालिका गाउँपालिका वडा नं ७ को वडा कार्यालय एक बर्षमा ३ पटक तोडफोड भएको छ । नचिनेका व्यक्तिले गत माघ ७ गते राति वडा कार्यालयका २ कोठामा तोडफोड गरेर ल्यापटप चोरे । वडा कार्यालयको वडाध्यक्ष कक्ष र वडासचिव कक्षमा तोडफोड गर्नुका साथै वडा कार्यालयको ल्यापटप लगेर गएको को वडाध्यक्ष बेद प्रसाद पन्थीले जानकारी दिए । वडाध्यक्ष पन्थीका अनुसार गत असोज १० गते पनि वडा कार्यालय तोडफोड गरेर ६० हजार नगद चोरी भएको हो । भने ०७६ पुस ९ गते वडा कार्यालय तोडफोड गरेर नगद ३० हजार चोरी भएको थियो । पटकपटक वडा कार्यालय तोडफोड हुँदा आफुहरुलाई असुरक्षा समेत सृजना भएको पन्थीले बताए ।
त्यस्तै इस्मा गाउँपालिका २ को वडा कार्यालय र स्वास्थ्यचौकी तोडफोड भएको इस्मा गाउँपालिका उपप्रमुख बिमला केसीले जानकारी दिइन् । पैसा भएको शंकामा वडा कार्यालय र स्वास्थ्यचौकीको कोठाहरु तोडफोड गरिएको केसीले बताइन् । कोठामा भएका टेवल र दराजका घर्राहरु फोरिएको छ ।
गुल्मी साना ठूला आपराधिक क्रियाकलापको अखडा बन्न लागेको संकेत यी घटनाहरुले दिन्छन् ।
जिल्लाका नागरिक समाज तथा स्थानीयहरुले त्रास बढ्दै गएपछि प्रशासनसँग सुरक्षाका माग गरेका छन् । जिल्लामा नेकपा गुल्मीका नेता तथा नागरिक समाज र सरोकारवालाले जिल्लाको शान्ति सुरक्षाको बिषयलाई लिएर प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्मा र प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठको ध्यानाकर्षण गराएका छन् ।
केहि दिन अघि जिल्ला प्रशासन कार्यालयमा पुगेर नेकपा नेताहरुले दैनिक अपराधका घटना बढ्दै गएको शान्ति सुरक्षाको माग गरे । नेकपाका नेता बुद्धि जिसीले जिल्लामा पछिल्लो समय भएका घटना र प्रहरीले देखाएको उदासिनताका बारेमा जानकारी गराएका थिए । अर्का नेता गणेश श्रीपालीले प्रहरीको सक्रियता र अनुसन्धान चुस्त नभएका कारण पीडकले उन्मुुक्ति पाउँदा अपराधका श्रृङखला बढेको आरोप लगाए । नागरिक समाजका संयोजक पदम प्रसाद पाण्डेयले प्रशासन र प्रहरीको आँखै अगाडी बिद्यार्थी कुटपीट हुनुले शान्ति सुरक्षाको अवस्था छर्लङ्ग हुने बताए ।
साथै राज्यका नियमनकारी निकाय मौन बसेकै कारण १० बर्षदेखि तम्घासमा झारफुकको नाममा मान्छे ढगिने र डामिएर मर्ने स्थिती आएको पाण्डेयले बताए । रेसुंगा संरक्षण समितिका सदस्य कृष्ण भण्डारीले रेसुंगामा चोरी सिकार र वन फँडानीको बिषयमा पटकपटक प्रहरी प्रशासनको ध्यानार्षण गराउँदा पनि सुनुवाई नभएको स्मरण गर्दै अहिले शिकारीकै बन्दुकबाट स्थानीय नागरिकले ज्यान गुमाउनु परेको बताए । त्यस्तै गुल्मी उद्योग बाणिज्य संघ गुल्मीले पनि व्यावसायीको हत्या भएको ५÷६ महिनासम्म हत्यामा संलग्न पत्ता नलागेको, सदरमुकाममै चोरी हुने लगायतका घटनाले व्यावसायीक सुरक्षा नभएको भन्दै प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका थिए ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले पछिल्लो समय जिल्लामा बढेका अपराधका घटनाले आफु पनि चिन्तित भएको बताइन् । उनले आफुहरुले घटना बढ्नुको कारण पत्ता लगाएर रणनैतिक र आकस्मिक योजना दुवै तर्फबाट सक्रिय भएको प्रतिक्रिया दिइन् । प्रहरी प्रमुख प्रविणलाल श्रेष्ठले घटनाको अनुसन्धान प्रहरी एक्लैले मात्रै संभव नभएकाले सवैको सहयोगमा सवै घटनाका दोषिहरु कानुनको दायरामा आउने बताए ।