बागलुङ : दिवङ्गत टीकाराम खरेलका सम्मानमा गलकोट नगरपालिका–९ मलम छिसकी ९४ वर्षीया धनकला र सन्ततिले नेपाल पत्रकार महासङ्घ बागलुङ शाखामा ‘टीका–धन क्रियाशील पत्रकारिता पुरस्कार’ स्थापना गरेका छन्।
जिल्लामा सक्रिय एक पत्रकारलाई वर्षेनि पुरस्कृत गर्ने उद्देश्यले शाखामा रु एक लाख बराबरको पुरस्कार कोष खडा गरिएको खरेलका कान्छा छोरा मित्र खरेलले जानकारी दिए। गलकोट पत्रकार समाजका अध्यक्षसमेत रहेका उनले कोषबाट आउने ब्याजबाट पुरस्कार प्रदान गरिने बताए।
“आमाले ज्येष्ठ नागरिक भत्ताबापत पाएको रकम पुरस्कार कोषमा जम्मा गर्नुभएको छ, परिवारका तर्फबाट पनि सहयोग थपिएको छ”, मित्रले भने, “दिवङ्गत बुबाको पनि सम्मान होस र पुरस्कारमार्फत पत्रकारिता क्षेत्रको प्रवद्र्धनमा पनि योगदान पुगोस भन्ने सोचेर कोष स्थापना गरेका हौँ ।”
धनकला पुरस्कारको संरक्षक, छोराहरु मित्र, लीलाधर, बुहारी सीता, देवकी, छोरी मनकुमारी र मनरुपा सापकोटा कोषको संस्थापकका रुपमा रहेका छन्। नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाका अध्यक्ष दिल शिरीषले अगग्लै कार्यविधि बनाएर पुरस्कार कोष सञ्चालन तथा व्यवस्थापन गरिने बताए ।
“महासङ्घका योसहित चारवटा पुरस्कार कोष छन्, सबै पुरस्कार फरक–फरक विधामा प्रदान गरिन्छ”, उनले भने “पत्रकारितामा ऊर्जाशील र फरक ढङ्गले काम गरिरहेका नयाँ पुस्ताका पत्रकारलाई प्रोत्साहित गर्ने गरी यो पुरस्कार दिने सोच छ ।” अध्यक्ष शिरीषले पत्रकारिता पुरस्कार स्थापना गरेर खरेल परिवारले अनुकरणीय कार्य गरेको बताए । कोषको रकम संरक्षक धनकला र उनका परिवारका सदस्यले मङ्गलबार महासङ्घका शाखा अध्यक्ष शिरीषलाई हस्तान्तरण गरेको थियो । रासस