दाङ । परिक्षामा नम्बर कम ल्याएको भन्दै कक्षाकोठा भित्र विद्यार्थीहरुलाई कुटपिट गर्ने राजपुर गाउँपालिका–७ स्थित माध्यमिक विद्यालय सिक्टाका शिक्षक हेमराज बिकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
फागुन ३ गते बिकलाइ पक्राउ गरेर बालबालिका ऐन अन्तरगत मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी नायव निरिक्षक मिनबहादुर शाहीले बताए ।
‘विद्यार्थीका अभिभावकको किटानी जाहेरीका आधारमा पक्राउ गरेका हौं,’ उनले भने–‘अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको छ ।’
करिब दुई हप्ता अघि शिक्षक बिकले गणित बिषयको परिक्षामा शून्य नम्बर ल्याएको भन्दै विद्यार्थीलाई पाइपले कुटेको भिडियो सार्वजनिक भएको थियो । शिक्षक बिकले विद्यार्थी कुट्नु गल्ती स्विकार गरेका छन् ।