बुटवल । बैतडीको दोगडाकेदार गाउँपालिकाकी १७ बर्षीय किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा भागरथी कै नाता पर्ने एक किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
हत्या गरिएकी भागरथी पढ्ने विद्यालयमा नै कक्षा ११ मा पढ्ने दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । भागरथी सोही विद्यालयमा कक्षा १२ मा पढिरहेकी थिइन् । आरोपी भट्ट भागीरथीका छिमेकी र नातेदार हुन् ।
‘पक्राउ परेका किशोरले अपराध स्वीकारेका छन् । घरायसी रिसिबीका कारण घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।’ प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।
दिनेशलाई घटना भएकै दिनदेखि प्रहरीले निगरानीमा राखेको उनले बताए । आरोपीको गतिविधि शंकास्पद देखिएको भन्दै उनले भने–‘यौनमा बढी रुची भएका व्यक्तिमाथि निगरानी बढाएका थियौँ । त्यसमा उनी पनि परे ।’
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार उनलाई सोधपुछका लागि यसअघि पनि प्रहरीले नियन्त्रणमा लिएको थियो र पछि छाडेको थियो । त्यसपछि ती दिनेश भागरथीको न्यायका लागि भएको प्रर्दशनमा समेत सहभागी भएका थिए । अभियोग पुष्टि हुने प्रमाण पाएपछि प्रहरीले दिनेशलाई फेरि पक्राउ गरेको हो ।
प्रहरी वरिष्ठ उपरीक्षक सिंहले योजनाबद्ध रुपमा भागरथीको हत्या भएको बताए । अभियुक्त दिनेश घटनाको दिन पहिल्यै बाटोमा कुरेर बसेकोसमेत खुलेको छ । दुई पिरियड छोडेर उनी भागरथीको हत्याका लागि बाटोमा कुरेर बसेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्ट २१ माघमा विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा फेला परेको थियो ।
माघ २१ गते भागरथीको हत्यापछि उनी नियमित स्कुल जाने–आउने गरिरहेका थिए। भागरथीको हत्यापछि बैतडीमा दोषीलाई पक्राउ गरी न्याय दिन आवाज उठ्न थाले। जुलुसहरूमा ती किशोर पनि देखिन्थे।
‘प्रहरी देख्दा उनी डराउँथे, भागरथीलाई न्याय दे भनेर आयोजना हुने जुलुसमा उनी हात उठाउँथे,’ घटनाको अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘मंगलबार उनलाई घरबाटै समातिएको हो।’
पक्राउ परेका किशोरको घर भागरथीको भन्दा २० मिनेट टाढा पर्छ। उनले पहिलेदेखि नै भागरथीको बलात्कार र हत्याको योजना बनाएको ती अधिकृतले बताए।
घटना भएको दिन पनि ती किशोर स्कुल गएका थिए । खोचलेक बजारमा भागरथी साथीहरूसँग छुट्टिएपछि उनी भागरथीको पछि लागेका थिए । अनुसन्धान अधिकृतका अनुसार घर पुग्नुभन्दा एक किलोमिटर टाढा जंगलमा पुगेपछि भागरथीलाई उनले लछारपछार पारेर बलात्कार गरे । र, तुरुन्तै हत्या गरे।
अनुसन्धान अधिकृतका अनुसार बलात्कार गरेपछि उनले हत्या गर्नुबाहेक विकल्प देखेनन्। परिचित व्यक्ति भएका कारण उनी उम्किन सक्दैनथे। ‘बलात्कारपछि मार्ने नै मनसाय बनाएको देखिन्छ र उनले घाँटी थिचेर हत्या गरेको बताएका छन्,’ ती अधिकृतले भने। भागरथीको पोष्टमार्टम रिपोर्टमा पनि बलात्कारपछि घाँटी थिचेर हत्या गरेको उल्लेख छ। उनले भागरथीसँग आफ्नो ‘दुश्मनी’ रहेको प्रहरीलाई बताएका छन्। यहीँ ‘दुश्मनी’ को कारण आफू भागरथीको पछि लागेको उनले प्रहरीमा प्रारम्भीक बयान दिएका छन्। उनी भागरथीलाई बलात्कारपछि हत्या गर्ने मनसायकै साथ हिँडिरहेका थिए। त्यसदिन उनले उपयुक्त मौका छोपेका थिए।