काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको आन्तरिक तयारी पूरा भएको जनाएको छ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १७ र २७ गते हुने निर्वाचनको लागि आन्तरिक तयारी पुरा भएको बताएका हुन् ।
शुक्रबार पाँचौ निर्वाचन दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आउँदो निर्वाचनको लागि आन्तरिक तयारी पुरा गरेको बताएका हुन् ।
फागुन २१ गते मतदाता नामावली प्रकाशन गरिने तथा देशभरी मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिने उनको भनाई छ । निर्वाचन सामाग्रीहरुको आन्तरिक बन्दोबस्त भइसकेको भन्दै उनले बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको समेत बताएका छन् ।
निर्वाचनमा सामाजिक सञ्जाललाई प्रभावकारी ढंगले प्रयोग गर्नका लागि सामाजिक सञ्जाल सम्बन्धी नीति तर्जुमा गर्ने प्रक्रियामा रहेको पनि थपलियाले बताए ।
उनले भने– ‘आउँदो निर्वाचनको शिलशिलामा पनि हामीले निर्वाचनको आन्तरिक तयारी लगभग पुरा गरेका छौँ । यही फागुन २१ गते सबै मतदाता नामावलीको नाम प्रकाशन गरिनेछ । देशभरी मतदानस्थल र मतदान केन्द्रहरुको निधो गरिनेछ । त्यसलगत्तै हाम्रा निर्वाचनका कार्यक्रमहरु अगाडि बढ्नेछन् । हामीले यो वर्ष निर्वाचनमा मिडिया क्षेत्रको भूमिका र विशेषत्ः सामाजिक सञ्जाललाई पनि प्रभावकारी ढंगले प्रयोग गर्नुपर्छ भन्ने ध्येयले सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति नै तर्जुमा गरेका छौँ । रणनीति तर्जुमा गर्ने प्रक्रियामा छौँ । निर्वाचनका सामाग्रीको आन्तरिक बन्दोबस्त भइसकेको छ । बाह्य रुपमा उपलब्ध गराउनुपर्ने सामाग्रीहरुको खरिद योजना तयार गरिएको छ भने विभिन्न किसिमका तालिम, कार्यक्रमका निम्ति आवश्यक सामाग्रीहरु तयार गरी अगाडि बढिराखेका छौँ ।’