बाँके-लुम्बिनी प्रदेशमा एक वर्षमा ८८४ वटा महिला मानव अधिकार हननका घटना भएका छन्। यी सबै राज्यपक्षबाट हनन भएका हुन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक लुम्बिनी प्रदेश कार्यालयले नेपालगन्जमा सार्वजनिक गरेको तथ्यांकमा लुम्बिनी प्रदेशमा सबैभन्दा बढी ८ सय ८४ वटा महिला मानव अधिकार हननका घटना भएको उल्लेख छ। महिला मानव अधिकार हननका घटना सबै राज्यपक्षबाट भएका हुन्।
यस्तै यस प्रदेशमा २ सय ८० वटा बाल अधिकार सम्बन्धी घटना भएका छन्। यसमध्ये २ सय ७३ वटा राज्य पक्षबाट र ७ वटा अन्य पक्षबाट भएको इन्सेकको तथ्यांकमा उल्लेख छ। यसैगरी ४१ जनाको हत्या भएको छ। अन्य पक्षबाट भएको घटनामा २२ जना महिला र १९ पुरुषको हत्याको भएको हो।
त्यस्तै प्रदेशमा १९ वटा कुटपिट, १६ वटा जातिय विभेद, ४ वटा धम्की सम्बन्धी घटना भएका छन्। लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा कुल १२ सय ५५ वटा मानव अधिकार उल्लंघन सम्बन्धी घटना भएको तथ्यांकमा जनाइएको छ। इन्सेक नेपालगन्जका प्रमुख भोला महतले लुम्बिनी प्रदेशमा महिला तथा बाल अधिकार सम्बन्धी घटना धेरै भएको बताए।
इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२१ मा लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा भएका मानव अधिकार उल्लंघनसम्बन्धी घटनालाई समेटेको जानकारी दिए।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा रहेका कारागारमा कैदीको क्षमता अत्यधिक रहेको, कोरोना भाइरसका कारण मानव अधिकारमा पुर्याएको असरलाई पुस्तकमा समेटिएको महतले बताए।