भैरहवा - भारतीय सीमा सुरक्षाबल एसएसबीले नेपालीहरुलाई भारततर्फ जान रोक लगाएको भन्दै सीमा नाकामा विरोध प्रदर्शन भएपछि दिउसो केहीबेर बेलहिया अवरुद्ध भएको थियो। भारतबाट नेपाल आउदा सहज आउन दिने, भारततर्फ जादा एसएसबीले जान रोक लगाएर ज्यादती गरेको भन्दै नेपालीहरुले दशगजामै नाराबाजी गर्दै आवगमन बन्द गरेका थिए ।
किनमेलका लागि जान लागेका नेपालीहरुलाई कुकुर सहित सुरक्षामा रहेका एसएसबीले प्रवेश नदिएपछि आक्रोसित नेपाली समूहले विरोध गरेको थियो । भारतिय व्यवसायीका अनुसार एसएसबीले समय समयमा सुरक्षाको कारण देखाउदै नेपालीलाई प्रवेशमा रोक लगाउदै आएको छ, आज पनि रोक लगाउने क्रममा तनाव सृजना भएको हो ।
नेपालीहरुले आवतजावत नै बन्द गरेपछि दुवै देशका सुरक्षा निकायले छलफलबाट आवगमन सुचारु गरेका थिए । सिमामा तनाव भएसँगै दुवै देश तर्फ सुरक्षाकर्मी परिचालन भएको थियो । सिमामा नेपालीहरुले प्रदर्शन गर्दा एक घण्टा आवगमन बन्द रहेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक ईश्वरी अधिकारीले बताए।
करिब एक वर्ष देखि बन्द रहेको सिमा अझै पनि पूर्ण रुपले खुलेको छैन। भारतिय पक्षले औषधी उपचारर्थ, नेपाल आएका भारतिय नागरिकलाई आधार कार्ड हेरेर र फाटफुट रुपमा किनमेलका लागि नेपालीहरुलाई प्रवेश दिइरहेको छ । आज शनिबार धेरै नेपालीहरु किनमेलका लागि आएर भिडभाड हुने देखिएपछि सुरक्षा र कोभिडको कारण रोक लगाइएको सुरक्षा स्रोतले जानकारी दिएको छ।