बुटवल। सार्वजनिक सवारी साधनबाट फालिने फोहरले सडक, सहर र बस्ती दुर्गन्धित बन्दै गइरहेको गुनासो आइरहेका बेलामा बुटवलमा एउटा नयाँ अभियान सुरु भएको छ । सार्वजनिक सडक पेटी तथा चोकहरुमा जथाभावी फोहर नफाल्न आग्रह गर्दै नागरिक स्तरबाट स्थानीय सरकारको सहयोगमा बुटवलमा नमुना अभियान सुरु भएको हो ।
विदेशको अनुभवलाई स्वदेशलाई भन्ने नाराका साथ सुरु गरिएको अभियानको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले नागरिक स्तरबाट सुरु भएको अभियानले स्थानीय तहलाई थप जिम्मेवार र जवाफदेही बनाउने काम गरेको बताए ।
स्वच्छ, सुन्दर र हराभरा सहर निर्माणमा सबैको सहकार्यको खाँचो रहेको उल्लेख गर्दै प्रमुख सुवेदीले उत्साहीत नागरिक समाज, लेखक र विश्लेषकहरुको सकारात्मक सहकार्यले नै परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरे ।
यसक्षेत्रका लेखक, विश्लेषक तथा पत्रकारहरुको एउटा समूहले बुटवल उपमहानगरपालिकाको सहयोगमा यसक्षेत्रमा सञ्चालन हुने सार्वजनिक सवारी सधानहरुबाट यसखालको अभियान सुरु गरेको हो । विभिन्न रुट र क्षेत्रमा आउजाउ गर्ने सार्वजनिक यातायातका साधन र तिनका मजदुर तथा यात्रुलाई बसभित्रबाट फोहर जथाभावी बाहिर नफाल्न आग्रह गर्दै बस भित्रै फोहर संकलन गर्न निशुल्क डष्टविनसमेत वितरण गरिएको समन्वयकर्ता उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश ५ का कोषाध्यक्ष एवम् विश्लेषक ऋषि आजादले जानकारी दिए ।
हालै मित्रराष्ट्र चीनको भ्रमणमा गएर आएका यहाँका लेखक, विश्लेषक तथा पत्रकारहरुले बुटवल उपमहानगरपालिकाको सहयोगमा यसखालको अभियान सुरु गरिएको विश्लेषक आजादको भनाइ छ । विश्लेषक आजादसहित प्रेस स्वतन्त्रता सेनानी तथा ज्येष्ठ कम्युनिष्ट मञ्चका नेता अर्जुन ज्ञवाली, पत्रकारहरु भरत केसी, प्रदीप आचार्य, अमृत गिरी, विष्णुप्रसाद घिमिरे तथा बालकृष्ण भट्टराईसहितको टोलीले हालै मित्रराष्ट्र चीनको भ्रमण गरेको थियो ।
त्यहाँको सार्वजनिक यात्रा, सडकपेटी तथा फोहरको व्यवस्थापनबाट प्रभावित भएर उक्त टोलीले बुटवलमा सार्वजनिक बसलाई फोहर संकलनको बाल्टी वितरण गर्दै विदेशको अनुभव स्वदेशलाई भन्ने अभियान सुरु गरेको हो । विदेशबाट फर्कने हरेक नागरिकले विदेशको अनुभव स्वदेशलाई भन्ने अभियान आत्मसात गर्नुपर्ने र त्यसलाई अनिवार्य प्रयोगमा ल्याउन जरुरी रहेको अभियानकर्ताहरुले बताएका छन् ।
उनीहरुले बुटवलबाट सुरु गरिएको अभियानलाई थप क्षेत्रमा विस्तार गर्दै निरन्तरता दिइने प्रतिबद्धता जनाएका छन् । बुटवल ट्राफिकचोकमा आयोजित उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख सुवेदीसहित, वडा नं. ६ का अध्यक्ष जगदीशचन्द्र आचार्य, वडा १ का अध्यक्ष महेन्द्रप्रसाद लिगल, पश्चिम नेपाल बस व्यवसायी प्रा.लिका अध्यक्ष दधिराम खरेल, उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश नं. ५ की सदस्य सरास्वती ढकाल, पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष दीपक ज्ञवाली, उपाध्यक्ष निरु गौतमलगायतले अभियानमा सहभागिता जनाएका थिए ।
यस्तै समाजसेवी तथा यातायात व्यवसायी नारायणप्रसाद घिमिरे, यातायात मजदुर संगठनका केन्द्रीय सदस्य तथा तिनाउ बुटवल सरसफाई अभियानका संयोजक ठाकुर गैरे, युवा लेखक मेघराज भट्टराई, ट्राफिक प्रहरी हवल्दार थम्मन पराजुली, कृष्ण घिमिरेलगाएतले माईक्रो बसमा डस्विन वितरण गर्दै अभियानलाई विस्तार गर्नुपर्नेमा जोड दिए । पहिलोचरणमा यहाँका ८० वटा सार्वजनिक बसहरुमा फोहर संकलनका लागि डष्टविन वितरण गरिएको कार्यक्रम संयोजक तथा अभियानकर्ता प्रदीप आचार्यले जानकारी दिए ।
सुरुवाती चरणमा छोटो दुरीमा चल्ने माईक्रो बसमा डस्विन वितरण गरेको नगरपालिका, निजी क्षेत्र र यहाँका अरु पालिकाहरुको सहकार्यमा अभियानलाई विस्तार गरिने कार्यक्रम सञ्चालक तथा अभियानकर्ता अमृत गिरीले बताए । बस व्यवसायीको सहकार्य विदेशको अनुभवलाई स्वदेशलाई भन्ने अभियानमा पश्चिम नेपाल बस व्यवसायी प्रा.लिले सहकार्य गर्नेभएको छ ।
उक्त प्रालिका अध्यक्ष दधिराम खरेलले अब प्रालिले आफै पनि डस्विन वितरण गर्ने र सडकपेटी सरसफाईको अभियानमा सरिक हुने प्रतिबद्धता जनाए ।