सिन्धुपाल्चोक- बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा आजदेखि पानी भरेर परीक्षण थालिएको छ। आयोजना स्थल मेलम्चीमा खानेपानी मन्त्री मणि थापाको उपस्थितिमा सुरूङमा पानी हालेर परीक्षण सुरु गरिएको हो।
गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलुम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो। त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायतका संरचनाको पुनः जाँच गरेको थियो। विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले बताए।
सुरुमा परीक्षणका लागि प्राविधिक मापदण्ड अनुसार प्रति सेकेन्ड २६० लिटरका दरले सुरुङमा पानी प्रवाह गरिनेछ। यसरी पानी प्रवाह गर्दा सुरुङ भरिन करिब १६ दिन लाग्ने प्राविधिक अनुमान छ । परीक्षण अवधि करिब दुई महिनाको हुनेछ।
सोमवार मेलम्ची हेडवक्र्स साइटमा आयोजित कार्यक्रममा खानेपानी मन्त्री मणि चन्द्र थापाले कन्ट्रोल कक्षको स्वीच थिचेर सुरुङ परीक्षण कार्यको थालनी गरे। शुभारम्भ कार्यक्रममा युवा तथा खेलकुद मन्त्री दावा तामाङ र सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि सरिक थिए ।
आयोजनाले प्रथम चरणमा सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी प्रसोधन गर्ने प्रसोधन केन्द्रको निर्माण कार्य सम्पन्न गरेको छ। हेडवक्र्सको निर्माण कार्य अन्तिम चरणमा छ । हाललाई हेडवक्र्स स्थलभन्दा १०० मिटर माथि निर्माण गरिएको अस्थायी बाँधबाट डाइभर्सन टनेल हुँदै सुरुङमार्गमा पानी प्रवाह गरिएको छ।
अहिलेको अन्तरिम व्यवस्था अन्तर्गत पूर्ण रुपमा पानी प्रवाह भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौंमा उपलब्ध हुनेछ र त्यसले उपत्यकाको खानेपानी समस्या निवारणमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास समितिले लिएको छ। पानी पथान्तरण सुरु भएसँगै मेलम्ची नदी, अडिट टनेल रहेको सिन्धु, ग्याल्थुम पानी बहाव क्षेत्रहरु साथै बाग्मती नदीमा कुनैपनि बेला पानीको बहाब बढ्नसक्ने भएकाले आसपासका खोलानाला र नदी किनारमा जानुपर्दा विशेष सावधानी अपनाउन हुन सर्वसाधारणमा अपिल गरिएको छ ।