मोहम्मद हबिब
भैरहवा । रुपन्देहीमा भाईसँग मिलेर दाईले श्रीमतीको हत्या गरेको खुलेको छ । ऋण मिनाहासहित विमा रकमको लोभको कारण देवर र श्रीमान मिलेर श्रीमतीको हत्या गरेको खुलेको हो ।
हत्या गरेपछि उनीहरुले दुर्घटना भन्दै प्रहरीमा जाहेरी दिनसमेत गएको खुलेको छ । तर, प्रहरीले अनुसन्धानपछि उनीहरुनै हत्यारा भएको ठहर गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले श्रीमानसहित देवरलाई हत्याको आरोपमा सार्वजनिक गरेको छ ।
गत सातामात्रै रुपन्देहीको कोटहीमाई गाँउपालिका १ पतिजियामा भएको सवारी दुर्घटनामा परि मृत्यु भएको भनि उनीहरु प्रहरीमा जाहेरी दिन गएका थिए । सिपवास्थित झुलनीपुरदेखि मर्चवार जाने सडकमा पिकअपको ठक्करबाट लडेकी महिलामाथि व्याक गरेर पटकपटक गाडी चढाएरु शक्त घाइते पारेको अवस्थामा छ भन्ने सूचना इलाका प्रहरी कार्यालयले पाउनासाथ घटनालाई घटनाको अनुसन्धान सुरु गरेको थियो ।
घटना नजिकै मृतकको श्रीमान शैलेश कुमार लोध छोरा सहित मोटरसाइकलमा गइरहेको र उनको साथमा २ जना सवार अर्को मोटरसाइकल पनि रहेको भनि श्रीमानले जाहेरी दिएका थिए । श्रीमानकै संलग्नतामा भएको हत्याको जाहेरीमा लुटपाट भन्ने देखाएपनि श्रीमानले नै योजनाबद्ध रुपमा श्रीमतिको हत्या गरेको प्रहरीले अनुसन्धानले देखाएको प्रहरीले जनाएको छ ।
प्रहरीले आवश्यक अनुसन्धानका लागि प्रारम्भिक चरणमा सवारी सधान र चालकलाई नियन्त्रणमा लिएपनि आवश्यक सोधपुछ र सवारी परिक्षणले दुवै अवस्था घटनास्थलमा नभएकोले प्रहरीले दुर्घटना नभई हत्या भएको हुन सक्ने आकलन गरेको थियो ।
घटनालाई प्रहरीले दोस्रो चरणबाट अनुसन्धान गर्न श्रीमान र घर परिवारलाई निगरानी र शंकास्पद व्यवहारले उनीहरुको संलगनता रहेको पुष्टि गर्यो ।
अनुसन्धानबाट परिवारमा नै शंका भएपछि घटना भएको तेस्रो दिन अभियुक्त मृतकका पति शैलेश कुमार लोध र देवर राजेश कुमार लोधलाई प्रहरीले नियन्त्रणमा लिई ज्यान सम्बन्धी मुद्धा चलाइरहेको छ । मृतकको नाममा रहेको ऋण फिर्ता हुने र भारत तथा नेपालबाट करिब ४० लाखको विमा रकम मृत्यु भएपछि पाउने लोभका कारण योजनाबद्ध रुपमा आफ्नौ भारतिय कारले किचेर ज्यान लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । घरमै देवरले चलाएको गाडीबाट दाजु भाईले हत्या गरी पैसाको लोभले हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक प्रविण पोखरेलले जानकारी दिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिई मुद्धा चलाइरहेको छ, घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय लुम्बिनीका प्रमुख प्रहरी निरिक्षक रबिन्द्र महतले जानकारी दिए ।
रुपन्देहीमा पछिल्लो सात महिनामा ७ वटा हत्याका घटना भएका छन । अधिकांश सम्पत्ति, रिसिइबी र विपरित लिङ्ग प्रतिको आकर्षणले हत्याका घटना हुने गरेका छन । रुपन्देहीमा भएको घटना यिनै कारणले भए पनि रुपन्देही प्रहरीले अनुसन्धानबाट सातवटै घटनामा सफलता पाएको छ ।