भैरहवा – १११ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा भैरहवामा प्रभातफेरी र श्रमिक महिलालाई सम्मान गरि मनाइएको छ । सिद्धार्थनगर नगरपालिकाको आयोजना सामाजिक विकास डिभिजन कार्यालय रुपन्देहीको सहयोग र महिला तथा बाल अधिकार जिल्ला संजाल रुपन्देही, सरकारी कार्यालय, तथा अन्य गैरसरकारी संघसस्था, समुदाय प्रहरी साझेदारी कार्यक्रम लगायतको समन्वयमा नारा र प्लेकार्ड सहित भैरहवा बजारको परिक्रमा गरिएको हो।
बुद्धचोकबाट सुरु भएको ¥याली बम्रेली टोल, नारयण पथ, मिलनचोक, बैकरोड हुदै देवकोटाचोकमा सभामा परिणत भएको थियो । सभामा सिद्धार्थनगर नगरपालिका भित्र रहेर जोखिमपुर्ण श्रमसंग आवद्ध श्रमिक महिलालाई सम्मान गरिएको थियो । कार्यक्रममा सिद्धार्थनगर वडा नम्बर ६ की डर्कमी नसिमा खातुन र वडा नम्बर ९ की यातायात क्षेत्रकी परिचालक तुलसा कुमारी रावललाई नगद सहित सम्मान गरिएको थियो।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल, संिबधान सभा सदस्य आदत्यि नारायण कसौधन, नगरप्रमुख हरि अधिकारी, प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरे, रुपन्देहीका प्रहरी प्रमुख प्रविण पोखरेल लगायतले समयको क्रमका साथ राज्यको सहभागितामा महिला पुगेकोले महिलाहरुलाई पाएको जिममेवारी र अधिकारलाई योग्यता पूर्वक काम गर्न आग्रह गरे।
महिला हिंसाको मूख्य कारण बाल विवाह र दाईजो प्रथा रहेको कारण सबैलाई यसको बिरोध गर्दै आजका महिला कोही भन्दा कम नरहेकाले महिलालाई दया भन्दा पनि अवसर दिनु पर्ने खाँचो रहेको उनीहरुको भनाइ थियो ।
यस्तै ओमसतिया गाउँपालिका रुपन्देहीले १११ औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिका वार्ड न १ को मगर भवनमा आयोजित कार्यक्रममा १५ जना महिलाले रक्तदान गरेको महिला तथा बालबालिका शाखाकी प्रमुख निर्मला पाण्डेले बताइन् ।
हरेक वर्ष मार्च ८ मा विभिन्न कार्यक्रम गर्दै आएको र यो वर्ष महिलाले मात्रै रक्तदान गर्ने योजना अनुसार पालिकामा रहेका महिला सहकारी सँग समन्वय गरि रक्तदान कार्यक्रम गरेको कार्यपालिका सदस्य चुमकला बस्यालले बताइन्। कार्यक्रममा गाउँपालिका अध्यक्ष हिरा केवट राहुलले रक्तदान असाध्य महत्त्वपूर्ण कार्य भएको बताए । रगतको अभावले कसैको पनि ज्यान नजाओस् भनेर यस्तो अनुकरणीय कार्य गरेकोमा महिला कार्यपालिका सदस्य र महिला कर्मचारीलाई विशेष धन्यवाद दिएका थिए ।