सिराहा -सिराहाको लहानस्थित बम विष्फोट भएको स्थानमा तराई मुक्ति मोर्चाको पर्चा फेला परेको छ। आइतबार दिउसो लहानको मालपोत कार्यालयमा बम विष्फोट भएको थियो । विष्फोट भएको स्थानमा तराई मुक्ति मोर्चाको पर्चा फेला परेको र त्यसको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बम बिस्फोट हुँदा धनगढीमाई नगरपालिका–१३का सेवाग्राही अन्दाजी ३० वर्षीय दिनेशकुमार भण्डारी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। उनका अनुसार दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ।
अरु घाइते हुनेमा कार्यालयका नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका–६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका–१६का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका–४का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका–३का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन्।