बुटवल । सामाजिक सञ्जालमा चीन र युरोपका अस्पतालहरुबाट कहालीलाग्दा तस्वीर आएपछि कोरोनाको डर नेपालमा छिट्टै फैलियो । तस्वीरले अनिश्चितता बोकेका थिए । डर त्यही अनिश्चितताको नतिजा थियो । कोरोना भाइरस भने निकै पछि मात्रै फैलियो । डरैडरमा अघिल्लो साल आज कै दिनदेखि लागु हुनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ‘लकडाउन’ गरिएको हिजैजसो घोषणा गरिसकेका थिए । मुलुक एकाएक एक हप्ते लकडाउनमा गएको थियो तर, त्यो ‘हप्ता’ सकिन थप ८० दिन लाग्यो । त्यसपछि बल्ल मानिसहरु घर बाहिर निस्कन थालेका थिए ।
लकडाउनताका मैले पत्रकारिताको वैश्विक महासागरको नापोमा निकै सानो एउटा ‘भर्नाकुलर’ पत्रिकामा लेखिरहेको थिएँ, बुटवलमै बसेर । सबैले जस्तै यतिठूलो महामारी पहिलो पटक ‘भोगिरहेको’ थिएँ । कोरोनाले आफ्ना विषालु हाँगा कहाँसम्म फैलाउन सक्छ भनेर अनुमान गर्न सक्दिनथेँ । हुन त विश्व स्वास्थ्य संगठनले पनि कहाँ सकेको थियो र ! तर, अंग्रेजी भाषाका पत्रिका र सामाजिक सञ्जालबाट महामारीले कहाँ, कति र कसको हुर्मत लिइरहेछ भन्ने कुरा चाहीँ पछ्याइरहेको थिएँ ।
कोठामा बस्दा बस्दै सरकारले दोस्रो पटक लकडाउन लम्ब्यायो । लकडाउनले गर्दा दुवै छाक चुल्हो बाल्न गाह्रो परिरहेका गरिबहरुको दुर्दीन पनि लम्बिदो थियो । बुटवलका शहरी गरिबीको हालत कोठामै बसेर पनि अनुमान गर्न सक्थेँ । अवसर खोज्दै बसाइसराइँ गरेर बुटवलसम्म आइपुगेका बुटवलका शहरी गरिबमध्ये अधिकांश तिनाउका दुवै तटमा ठूला–ठूला वस्तीमा बसिरहेका थिए, जो दिनभर काम गरेर मात्रै साँझ हातमुख जोर्न सक्थे ।
तिनाउको पश्चिमी तटको अव्यवस्थित वस्तीको राधा सेक्टरका स्थानीयले सरकारबाट राहत नपाएपछि तिनाउको बालुवा उत्खनन् गरी बेचेर गुजारा चलाइरहेका थिए । २३ बर्षीय सुमन सुनारलाई आफूले खनेको बालुवा अर्कैले लैजाने हो कि भन्ने पीरले बिहानैदेखि तिनाउ खोलाको डिलमा कुरिरहेको अवस्थामा मैले भेटेको थिएँ ।
त्यहीँ तिनाउमा ड्याम बनाइरहेका श्रमिकलाई ‘कोरोनासँग डराए साँझ भोकै सुत्नु पर्ने डर’ थियो । उनीहरुका लागि कोरोना अर्थोकै थियो तर वास्तविकता पक्कै थिएन । ‘कोरोनासँग भन्दा भोकसँग डर लागिरहेछ हजुर, खान कसैले दिएन, यहाँ हामीलाई कसैले चिन्दैन,’ दाङकी बाल श्रमिक अमृता कुमालले मसँग कुरा गर्दै भनेकी थिइन् ।
जितगढीमा बस्ने ३८ बर्षीय रिक्सा चालक पदम थापालाई अघिल्लो दिन पुलिसले बीचबाटो बाटै घर फर्काइदिएपछि त्यसदिन चोरबाटोबाट रिक्सा लिई काममा आएका थिए । लकडाउनमा पनि यात्रु पाइने झिनो आसा लिएर उनी नयाँ बसपार्क पछाडिको सडकमा रिक्सा डोहोर्याइरहेका थिए । उनीसँग कुरा गरेपछि मैले बुझेको थिएँ, घरमा काखे छोराछोरी लिएर पदमकी पत्नी उनको बाटो हेरिरहेकी छन् ‘कतिखेर पैसा लिएर आउलान् र छोराछोरीलाई खान दिउँला’ भनेर ।
लकडाउनको भोलीपल्टबाटै दिनभर काम गरे मात्रै साँझमा खान पाउनेहरु र नेपालमा केही छैन भनेर भारत छिरेकाहरुको सकस सुरु भएको थियो । गाउँका गरिबहरु भन्दा शहरिया गरिबहरु अझै मर्कामा परेका थिए । यो यस्तो बर्ग थियो, जसमा ‘महामारीले लाने हो कि’ भन्ने डरको कुनै गुञ्जायस थिएन किनभने उनीहरुलाई ‘भोकले लाने हो कि’ भन्ने डरले थिचिसकेको थियो । यी व्यक्तिहरु ओर्वेलको ‘सम एनिमल्स आर मोर इक्वेल द्यान अदर्स’मा ‘अदर्स’ बर्गका थिए । यिनीहरुलाई ‘वर्क फ्रम होम’ ले चल्दैन थियो ।
म मर्चवार गएका बेला त्यहाँ २५ बर्षीय कृष्ण कुमार पासवान ‘कन्हैया’सँग भेट भएको थियो । लकडाउनमा उनी लुकेर हिड्दै–हिड्दै भारतबाट नेपाल छिरेका थिए । सिलाईकटाईको काम गरिरहेको ठाउँ लकडाउनले बन्द गर्नुपर्ने भएपछि भोकै बस्नुपर्ने बाध्यता टार्न उनी नेपालतिर भिड्किएका रहेछन् । यता मर्चवारमा खानका लागि समेत केही नभएको रित्तो घरमा उनकी आमा क्यान्सरले थला थिइन् । उनी आमालाई भेट्न आतुर थिए, तर क्वारेण्टाइनमा बसिरहेका बेला कोरोना संक्रमण भएपछि घर जान पाएनन् । उनलाई आइसोलेसनमा लगिएको थियो । त्यहाँ लामो उपचारपछि सञ्चो भएर घर फर्किएको धेरै समय नवित्दै बिमार आमाको मृत्यु भएको थियो ।
‘अब कोही रहेन यहाँ मेरो, दिल्लीतिरै जान्छु, एक्लो भएँ सर,’ कन्हैया र बिमार आमालाई छाडेर उनीहरुको घरबाट निस्केको केही बेरमा आफ्नी आमा बितेको खबर सुनाउँदै उनले मलाई फोन गरेका थिए । मलाई अझै सम्झना छ, त्यो शुन्य अनुभूती ।
सबैको आंकलन थियो, ‘एक पुस्तामा एक पटक आउने महामारी’ विरुद्धको लडाइँ सबैको हो र, सधैंदेखि बढ्दै गइरहेको आर्थिक असमानता र त्यसले निम्त्याएको बर्गीय दुरी कमी हुनेछ । लकडाउन घोषणा गर्दा प्रधानमन्त्रीले पनि भनिरहेका थिए–‘यो लडाइँ सिंगो राष्ट्रको लडाइँ हो ।’ तर आज एक वर्षमा उभिएर पछाडि हेर्दा ती आँकलन सत्य थिएनन् भन्ने थाहा भएको छ । किनभने कोरोना महामारीविरुद्धको ‘लडाइँ’मा सबै नागरिकको बराबरी हिस्सा थिएन; ‘हुनेखाने’हरु र ‘हुँदाखाने’हरु लडाइँ भिन्नाभिन्नै थियो ।
‘वर्क फ्रम होम’ लाई खिसी उडाउँदैं पूर्व–पश्चिम राजमार्गको तातो पीचमा सुरक्षाकर्मीसँग डराइ डराई हिडिरहेका मजदुरका लस्करहरु, साँझ खानेकुरा जुटाउन विहानैदेखि मजदुरी खोज्दै निस्किएका ति आम अनौपचारिक श्रमिकहरु, कामबाट निकालिएर खिन्न मन लिएर घरतिर फर्कदैं गरेका महिला श्रमिकहरु नै त्यो असमानताको दरिला प्रमाण थिए ।
के यी सबै कुराको हिसाब भयो त ? महामारी अझै सकिइसकेको छैन, आउने समयले पक्कै बताउला । तर, महामारीको उत्तरप्रभावमाथि सरकार कति संवेदनशील छ भनेर हेर्न अहिलेको राजनीतिक परिदृश्य हेरे पुग्छ । लाग्छ, सयौं किलोमिटर ताता सडकका ती पाइलाहरु, सडकमै विताइएका ती रातहरु, गरिब वस्तीका ति रित्ता पेटहरु फगत समाजका छद्य आवारण थिए, जो अहिले पृष्ठभूमिमा विलाइसके । हो ! लकडाउन समाजमा ‘क्यामाफ्लज’ भएर रहेको बर्गीय असमानता प्रष्ट झल्काउने ‘लेन्स’ बनेर आएको थियो । लकडाउनले देखायो, जसको मुक्तिका लागि देशमा सबैभन्दा धेरै नारा लागेको थियो, महामारीले उनीहरुकै सबैभन्दा धेरै हुर्मत लियो; गरिब, दलित, मधेशी, महिला....आदि इत्यादि ।