देउखुरी : यही चैत २० गतेदेखि दाङका दश स्थानीय तहमा हात्तीपाइले रोगविरुद्ध औषधि खुवाउने तयारी गरिएको छ । दश वर्षदेखि निरन्तर खुवाउँदै आएको सो रोगविरुद्धका औषधि ११आँै पटक खुवाइँदै छ ।
राष्ट्रिय हात्तीपाइले कार्यक्रम सर्भेको प्रारम्भिक तथ्यााङ्क अनुसार जिल्लाका विभिन्न पालिकाका ५४२ मा गरिएको नमूना परीक्षणमा ६.२२ प्रतिशत अर्थात १५८ यो रोगको सङ्क्रमण देखिएको छ ।
हात्तीपाइले रोग रेशा जस्ता कीटाणुको सङ्क्रमणबाट लाग्ने गर्दछ । यसको वयस्क परजीवी ८ देखि १० सेन्टिमिटरसम्म लामो हुन्छ । यो परजीवी ¥याल ग्रन्थी लिम्फ नोडमा हुन्छ । राप्ती गाउँपालिकाका ३३ हजार २९३ लाई औषधि खुवाइ ३२२ मा कीटाणुको सङ्क्रमण जाँच गर्दा ९ प्रतिशत अर्थात २३ मा हात्तीपाइले रोगका कीटाणु देखिएकाले यसलाई न्यून गर्न सरोकारवालाबीच छलफल गरिएको हो ।
राप्ती गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नारायण राउतले विगत वर्ष जस्तै यस वर्ष पनि नागरिकलाई हात्तीपाइले रोगबाट बचाउन औषधि खुवाउन थालिएको जानकारी दिए । क्युलेक्स वा एनोफिलिसको पोथी लामखुट्टेको टोकाइबाट फाइलेरिया नामक परजीबीबाट सर्ने यो रोग शरीर कुनै एक भाग वा अङ्गमा लाग्ने र त्यो अङ्ग सुनिँदै जाने भएकोले हात्तीपाइले रोग भनेर चिनिन्छ ।
“लामखुट्टेको टोकाइबाट सर्ने रोग विभिन्न खालका छन् , तर पनि हात्तीपाइले रोग नसर्ने रोग हो, यसले मानिसको तुरुन्तै मृत्यु हुँदैन,”उनले भने , “यस रोगले भेटेपछि उपचार नहुने भएकाले मानिसलाई जीवनभर भद्दा शरीर लिएर बाँच्नुपर्ने बनाउँछ ।
”लामखुट्टेले रातको समयमा रोगीलाई टोक्दा रगतसँगै सुक्ष्म फाइलेरिया यसको पेटमा जान्छ । लामखुट्टेको पेटमा विकसित भएर यो परजीवी मुखको ¥याल ग्रन्थीमा जम्मा हुन्छ ।”
विगत १० वर्षदेखि जिल्लामा निरन्तररुपमा औषधि खुवाउने अभियान सञ्चालन भए पनि सङ्क्रमण दर ६ प्रतिशतभन्दा माथि रहेको छ । जिल्लाभरको आठ ठाउँमा दुई हजार ५४२ मा गरिएको नमूना परीक्षणमा १५८ अर्थात ६ दशमलब २२ प्रतिशतमा सङ्क्रमण देखिन आएको हो ।
नमूना परीक्षणका ठाउँमध्ये गढवा गाउँपालिका सबैभन्दा जोखिममा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । गढवामा ३३० मा गरिएको परीक्षणमा ६२ मा सङ्क्रमण देखिएको हो ।
राप्तीको सिसहनियामा ३२२ मा गरिएको परीक्षणमा २९, घोराही उपमहानगरपालिका वडा १० नारायणपुरमा ३३३ को नमूना सङ्कलन गरिएकोमा १२ मा सङ्क्रमण देखिएको छ । लमही नगरपालिकामा ३०७ मा गरिएको परीक्षणमा १६ सङ्क्रमित फेला परेका छन् ।
दुई प्रतिशतभन्दा कम सङ्क्रमित भएमा सङ्क्रमितमुक्त हुने भए पनि जिल्लामा त्यो हुन नसकेको स्वास्थ्य कार्यालयका फेकल पर्सन कमल चन्दले जानकारी दिए ।
औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, सात दिनको सुत्केरी, सिकिस्त बिरामीले खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ । सङ्क्रमण देखिनेमा यी अवस्था भन्दा बाहिरका रहेका छन् । साथै खाली पेटमा औषधि नखानसमेत आग्रह गरिएको छ ।
शरीरमा हात्तीपाइले रोगको जिवाणु रहेका व्यक्तिले औषधि सेवन पश्चात सामान्य केही लक्षण देखिने हुँदा नआत्तिन पनि आग्रह गरिएको छ । नेपालमा सन् २०१२ बाट हात्तीपाइले विरुद्धको औषधि खुवाउन शुरु गरिएको हो । देशभर कूल ६३ जिल्लामा हात्तीपाइलेको प्रभाव देखिएकोमा दाङमा जोखिम कायमै रहेको छ ।
जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि निरन्तर खुवाउने अभियान सञ्चालन भए पनि जिल्लामा औषधि खुवाउने अभियान सञ्चालन भए पनि सङ्क्रमित दरमा कमी हुन सकेको छैन ।
यही २० गतेदेखि ११औँ पटक औषधि खुवाउनुपर्ने अवस्था आएको जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
हात्तीपाइले रोग क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट लाग्ने गर्दछ । यो रोग लागेको ६ देखि १० वर्षपछि मात्रै शरीरको बाहिरी भागमा देखापर्ने भएकाले रोगलाग्नु भन्दा अघि नै औषधि सेवन गर्नुपर्ने चिकित्सकको सुझाव छ ।
भारतीय उपमहाद्वीपको धेरै पुरानो रोग हो । यो एक पटक लागेपछि जीवनभर निको हुँदैन ।
मानिसको शरीरमा हात्तीपाइले रोगको परजीवी प्रवेश गर्नासाथ यो रोग देखापर्दैन । यो परजीवी करीब छ वर्षसम्म मानिसको शरीरमा सुसुप्त अवस्थामा रहन्छ ।
यो परजीवी शरीरमा रहे हात्तीपाइलेको औषधि सेवन गरेपछि कसै कसैलाई ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता हुने जस्ता सामान्य असर देखापर्न सक्ने छलफलमा जानकारी गराइएको थियो । रासस