गुल्मी। गुल्मीको चन्द्रकोट गाउँपालिका ६ रुपाकोटका बालकृष्ण भण्डारी ३० बर्षदेखि बेपत्ता छन्। श्रीमति सावित्रा ३१ बर्षदेखि श्रीमानकै प्रतिक्षामा छन्। बालकृष्णले २८ बर्षको उमेरमा ०४५ सालमा बिहे गरेका थिए।
त्यतिबेला सावित्रा १७ बर्षकी थिइन्। बिहे गरेको आठ दिनका दिन दुरान फर्काएर बालकृष्ण भारत गए। तीन बर्षसम्म तीन चिठी समेत पठाए। तर आफु फर्केर आएनन्। न छोराछोरी न श्रीमान सावित्रा ३० देखि ३५ बर्षसम्म रोएरै बसिन्। अहिले दुःखले परिवारसंग लडेर पाएको एक टुक्रा जमिन र श्रीमानको पुरानो फोटो मात्रै छ। ‘बिहेमा खिचेको फोटो र एक टुक्रा जमिन बाहेक केहि छैन,’उनले भनिन,–‘मर्ने बेलासम्म कि लास कि सास पाए हुन्थ्यो।’ सावित्राले छिमेकीको घरमा बसेर कष्टपूर्ण जीवन कटाएकी छन्। अहिले १२ बर्षदेखि बेपत्ता व्यक्तिलाई मृत्युको न्यायिक घोषणा गर्ने नयाँ कानुनी व्यावस्था रहेको छ। तर भण्डारीले त्यस बारेमा पत्तो छैन।
६० बर्षमा मृत्युको घोषणा
रेसुङ्गा नगरपालिका १२ दुविचौरका चन्द्र बहादुर बलाल २०१६ सालबाट बेपत्ता थिए। घरबाट भारत हिडेका उनी ६० बर्षसम्म फर्किएनन्। त्यतिबेला बलाल १४ बर्षका थिए। उनका श्रीमति छोराछोरी र बुबा आमा समेत छैनन्। नयाँ मुलुकी देवानी संहितामा मृत्युको न्यायीक घोषणा गर्न पाउने व्यास्था अनुसार भाई कृष्ण बलालले जिल्ला अदालत गुल्मीमा मृत्युको न्यायीक घोषणाको लागि निवेदन दिए। अदालतले गत ८ पुसमा भाई कृष्ण बलाललाई मृत्युको प्रमाण पत्र प्रदान गरेको छ।
अधिकांश भारतबाट बेपत्ता
गुल्मी दरवार गाउँपालिका ४ का दुर्गा प्रसाद पोख्रेल ०६२ साल असारदेखि बेपत्ता थिए। ५१ बर्षको हुँदा घरबाट भारतबाट हिडेका पोख्रेल अहिलेसम्म फर्किएनन्। खोज्ने सवै उपाय लगाए पनि कुनै पत्तो लागेन्। उनकै प्रतिक्षामा परिवारले १४ बिताए। नयाँ कानुनी व्यावस्था अनुसार श्रीमतिले जिल्ला अदालत गुल्मीमा निवेदन दिइन्। अदालतले १४ बर्षपछि मृत्युको न्यायीक घोषणा गरेर श्रीमति धेवकला पोख्रेललाई ०७६ मंसिर १८ गते प्रमाण पत्र प्रदान गरेको ग¥यो। त्यस्तै गुल्मी दरवार गाउँपालिका ३ का भक्त बहादुर थापा पनि ०६३ सालबाट बेपत्ता छन्। परिवारका अनुसार उनी पनि ३५ बर्षको उमेरमा रोजगारीकै लागि भारत पसेका हुन्। त्यस दिनदेखि श्रीमति गीता र परिवार भक्तकै प्रतिक्षामा बसे। श्रीमान खोज्ने केहि उपाय लागेन। अदालतमा आएर नयाँ कानुन अनुसार मृत्युको न्यायीक घोषणाको लागि गीताले निवेदन दिइन्। अदालतले १३ बर्षपछि श्रीमति गीतालाई मंसिर २० गते मृत्युको घोषणा भएको प्रमाणपत्र दिएको छ। दर्ता भएका अधिकांश निवेदनमा भारत गएर नफर्किएका निवेदन धेरै रहेको अदालतले जनाएको छ।
२७ निवेदन दर्ता : १५ थान फछर्यौट
जिल्ला अदातल गुल्मीमा यो आर्थिक बर्षमा २७ वटा मृत्युको न्यायिक घोषणा सम्बन्धि निवेदन दर्ता भएका छन्। जसका अहिलेसम्म १५ जनाले नयाँ व्यावस्था अनुसार मृत्युको न्यायीक घोषणाको प्रमाण पत्र पाएका छन्। अरु केहि निवेदनको आवश्यक कागज पत्र संकलनको काम भइरहेकाले केहि समयमै प्रमाण पत्र प्रदान गरिने जिल्ला अदालत गुल्मीका सुचना अधिकारी श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए। अहिलेसम्म यो प्रकृतिका निवेदन गुल्मी दरवार गाउँपालिकाका सवैभन्दा बढि छन्। यो आर्थिक बर्षमा मात्रै नौ थान निवेदन गुल्मी दरवार गाउँपालिकाका थिए। त्यो मध्ये सात थान निवेदनको प्रक्रिया पुरा गरेर मृत्युको न्यायीक घोषणाको प्रमाण पत्र प्रदान गरिएको लामिछानेले बताए।
नयाँ कानुनी व्यावस्था
मुलुकी देवानी संहिता ०७४ को भाग २ व्यक्ति सम्बन्धि कानुनको परिच्छेद १ को दफा ४० मा मृत्यु भएको मानिने र सोहि दफाको अन्य उपदफाहरुमा बेपत्ता वा मृत्युको न्यायीक घोषणा गर्ने कानुनी व्यावस्था रहेको छ। जसको लागि १२ बर्षसम्म कुनै व्यक्ति बिना सुचना बेपत्ता भएको वा कुनै बिपद् वा दुर्घटनामा परेकोले निजको मृत्यु वा बेपत्ता भएको मिति, ठेगाना र आधार प्रमाणसहित मृत्युको न्यायीक घोषणा गरि पाउँ भनी जिल्ला अदालतमा निवेदन दिनुपर्छ। अदालतले निवेदनको आधारमा आवश्यक कागज प्रमाण बुझेर त्यस्ता व्यक्तिको सम्बन्धमा मत्युको न्यायीक घोषणा गरेर प्रमाण पत्र प्रदान गरिने जिल्ला अदालतका श्रेष्तेदार कृष्णशरण लामिछानेले बताए। तर मृत्युको घोषणापछि व्यक्ति फर्किएर आएमा आवश्यक कानुनी प्रक्रिया पुरा गरेर अदालतले घोषणा संसोधन वा बदर गर्ने सक्ने व्यवास्था रहेको उनले बताए।