काठमाडौँ : प्रधानमन्त्री ओलीले मेलम्चीको पानी काठमाडौँ उपत्यकाको घरघरमा ल्याउनु सपनाको गफ मात्र नभएको बताए ।
“मेलम्चीको पानी काठमाडौँमा ल्याउने विषयमा कसैले गफ भने”, प्रधानमन्त्री ओलील भने, “मेलम्चीको पानी ल्याउने विषय सपनाको गफ होइन, तर अहिले काठमाडौँका धाराधारामा पानी आइसकेको छ ।” उनले देशलाई माथि उठाउन डिजिटल नेपालको अभियान शुरु गरेको र विभिन्न आयोजनाहरू सिंहदरबारबाट हेर्नसक्ने व्यवस्था गरेको उल्लेख गरे ।
सकेसम्म बन्दाबन्दी हुन्न
धानमन्त्री ओलीले सरकार बन्दाबन्दी गर्ने पक्षमा नरहेको स्पष्ट पारे । उनले सरकारले बन्दाबन्दी गर्ने धम्की दिएको भन्ने हल्ला मात्र बाहिर आएको उल्लेख गर्दै सकेसम्म बन्दाबन्दीको पक्षमा नरहेको बताए ।
उनले कतिपय राष्ट्रहरूले कोभिडको महामारी बढी फैलिएको हुनाले बन्दाबन्दी गर्न बाध्य भएको र जनताको सुरक्षाका लागि नेपाल सरकार गम्भीर रहेको स्पष्ट पारे । विसं २०७७ मा विश्वले पहिला कहिले पनि नदेखेको कोभिड १९को सामना गर्नुपरेको उल्लेख गर्दै उनले त्यसले मुलुकको समग्र सामाजिक जनजीवन, अर्थतन्त्र, शिक्षा अनेक पक्षहरूमा वर्षभर नै आक्रान्त रहनुपरेको बताए ।
“कोभिडलाई कात्तिकदेखि नियन्त्रण गर्दै ल्याएको थियो, चैतदेखि फेरी फैलन शुरु गरेको छ”, प्रधानमन्त्री ओलीले भने, “२०७७ सालको त्यो पीडा त्यसैरूपमा दोहोरिन नपाओस् फैलिन र जनधनलाई क्षति नपु¥याइयोस् भनेर सरकारले काम गरिहरेको छ ।” उनले कोभिड–१९ को महामारीबाट सुरक्षित रहन सरकार र स्वास्थ्य मन्त्रालयका मापदण्ड पालना गर्न अनुरोधसमेत गरे ।
विसं २०७७ कोभिडको महामारी भए पनि निरर्थक वर्ष नरहेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले उपब्धिको वर्ष रहेको बताए । उनले मेलम्चीको पानी काठमाडौँमा झार्न सफल, पुनः निर्माणका काम सम्पन्नजस्ता धेरै महत्वपूर्ण कामहरू भएको र अनलाइनमार्फत शिक्षालाई अगाडि बढाउने र सामान्य रुपमा जीवन अगाडि बढाउनेतर्फ ध्यान दिएको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले एमसीसी नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) सरकारमा हुँदा सम्झौता गरिएको भए पनि निर्णयार्थ संसद्मा टेबल गरिएको विषयलाई सरकारले टेबल गरेपछि संवैधानिक अधिकारलाई नमानेको बताए । उनले राष्ट्रिय एकता कायम गरी सम्पूर्ण सार्मथ्य देश विकासमा लगाउन जरुरी भएको बताए ।