बुटवल-कोरोना भाइरस सुरु भएको चीनको वुहानमा रहेका नेपालीहरुले सरकारले सुरु गरेको पहललाई चाँडो र प्रभावकारी बनाउन आग्रह गरेका छन्। हालसम्म आफुहरु सुरक्षित रहेको बताउँदै उनीहरुले नेपालमा ल्याएर परीक्षणका लागि राख्ने ठाउँबारे भइरहेको विरोधले थप पीडित बनाएको गुनासो गरेका छन्।
उनीहरुले आफुहरु सुरक्षित रहेपनि एकातिर भाइरसको डर र अर्कोतिर आफ्नै देशमा विरोध भएको खबरले दुखित बनाएको तर मानसिक तनावमा परेको भन्दै उनीहरुले उद्दारका लागि सरकारले गरेको पहललाई विरोध नगर्न पनि आग्रह गरेका छन्।
त्यहाँबाट ल्याएर परीक्षण अवधिका राख्ने ठाउँका बारेमा यहाँ विरोध भइरहेको र सरकारका काममा अवरोध सिर्जना भएको सूचना पाएका उनीहरुले स्वदेशबाटै अवरोध हुँदा पीडा झन बढेको दुखेसो गरेका हुन्। गत बिहीबारको मन्त्रिपरिषदको बैठकले भक्तपुरको खरीपाटीमा क्वारेण्टाइनमा राख्ने निर्णय गरेको थियो। तर, लगत्तै त्यसक्षेत्रका बासिन्दाको नाममा विरोध हुने र मन्त्रालय घेराउ गर्नेसम्मका काम भएपछि सरकारले अरु क्षेत्रका बारेमा पनि खोजी सुरु गरेको छ।
अर्थोपेडिक सर्जनको विशेषज्ञता पढ्न गएका रुपन्देहीका डाक्टर विकास न्यौपानेसहित आठ जना चिकित्सा क्षेत्रका विद्यार्थीहरुले आफुहरु बुहानमा रोकिएको भन्दै उद्धारका लागि पहल गर्न नेपाल सरकारसमक्ष आग्रह गरेका थिए। उनीहरुले चिकित्सा बाहेकका विद्यार्थीहरुलाई त्यहीँ मनोपरामर्शसमेत गराइरहेको बताए। ‘आफुहरुका पीडा लुकाएर अरुलाई सान्त्वना दिने काम गरिरहेका छौं’-डाक्टर न्यौपानेले बताए।
उनीहरुले यहाँ केही पत्रकारहरुलाई सामाजिक सञ्जालको (म्यासेन्जर) माध्यमबाट आफुहरु रहेको ठाउँको तस्बिर र अवस्थाका बारेमा सूचना दिएका थिए।
अहिले सरकारले उद्धारको पहललाई प्रभावकारी बनाइरहेका बेला उनीहरुले त्यसलाई छिटो–छिटो र छोंटो प्रक्रियाबाट पूरा गर्न आग्रह गरेका छन्।
जहाँबाट सुरु भएको थियो ठिक त्यहीँ नजिकैको ठाउँमा अध्ययनका लागि नेपाली विद्यार्थी गएका थिए। त्यहीँ बुहानमै एक सय ८० जना नेपाली रहेका छन्। चिकित्सा क्षेत्रको विशेषज्ञता र थप अध्ययनका लागि उनीहरु त्यहाँ गएका हुन। घर फर्किने तयारीमा रहेकै बेलामा त्यहाँ यस्तो भाइरसको संक्रमण फैलिएपछि उनीहरु त्यहीँ रोकिएका हुन। उनीहरु रहेको त्यो क्षेत्र अहिले पूरै बन्द गरिएको छ। बजार, होटल, रेष्टुरेन्ट, सार्वजनिक स्थलहरु सबै ‘सट डाउन’ गरेर राखिएको छ। अहिले खानेपानी देखि भोजनसम्मको अभाव हुन थालेको छ।
बजार बन्द गरिएकाले सामान जेजति स्टक छ त्यसैले त्यहाँ रहेकालाई थोरैथोरै मात्र वितरण गरिएको त्यहाँ रोकिएकी बुटवलकी दृष्टि पौडेले गुनासो गरिन्। आफुहरुलाई होस्टलको हलमा राखिएको र नजिकै अस्पताल रहेकाले संक्रमणको उच्च जोखिम रहेको उनले बताइन। ‘यहाँबाट जतिसक्दो चँँडो संक्रमण नफैलिंदै उद्दार गरियोस्, विरोध गरेर पीडा माथि पीडा थप्ने काम नगर्नुहोस्’ पौडेलको गुनासो छ।
उनीहरुमध्ये कतिपयले पढाई सकेर सर्टिफिकटको पर्खाइमा रहेका थिए। तर, सर्टिफिकेट पाइने समयभन्दा केही दिन अघि कोरोना भाइरसको संक्रमण फैलियो। उनीहरुसहित अन्य देशका विद्यार्थीहरुलाई पनि सँगै राखेको छ। सँगै राखेकामध्ये केही देशका विद्यार्थीमा यो संक्रमण देखिएपछि नेपालीहरुमा त्रास बढेको हो।
उद्दारका लागि वाइडबडी विमान पठाइने
यसैबीच सरकारले कोरोना भाइरस फैलिएको चीनको हुवेइ प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई ल्याउनका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० विमान चीन पठाउने तयारी गरेको छ। मन्त्रालय र निगमका पदाधिकारी एवं प्रतिनिधिबीच दुई दिन अघि भएको छलफलमा मन्त्रालयले वाइडबडी विमान लैजानका लागि निगमलाई आग्रह गरेको थियो। स्रोतका अनुसार फागुन ३ गते उक्त विमान चीन जाने तयारीमा छ।
नेपाल ल्याएपछि रेखदेख गर्न ६० जना स्वास्थ्यकर्मी तम्तयार
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट नेपाल ल्याउने विद्यार्थीको लागि ६० जना स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ। क्वारेन्टाइनमा राखिने विद्यार्थीको परीक्षण र रेखदेखका लागि उनीहरुलाई परिचालन गरिने छ। मन्त्रालयका प्रवक्ता सागर दाहालका अनुसार क्वारेन्टाइनमा राखिने नेपालीको स्वास्थ्य निगरानीमा खटिने ६० जना चिकित्सकलाई विशेष तालिमसमेत दिइएको छ। क्वारेन्टाइनमा कसरी राखिने, स्वास्थ्यकर्मीले कसरी काम गर्ने र शंकास्पद अवस्थम आइलागेमा के गर्ने भनेर सिकाइएको छ।