भैरहवा : रुपन्देहीमा देखिएको औलोका सबै विरामी भारतबाट संक्रमण भएर आएको पाइएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीले विश्व औलो दिवसको पूर्व सन्ध्यामा गरेको पत्रकारसँगको अन्तरक्रिया कार्यक्रममा कार्यालयले दिएको जानकारी अनुसार रुपन्देहीका सबै विरामी स्थानियबाट संक्रमित नभई बाहिरबाट संक्रमीत भई नेपाल आएका हुन ।
रुपन्देहीमा हाल ५ जनामा औलो रोगका देखिएको छ । बुटवल उपमहानगरपालिकाका ४ जना र तिलोत्तमा नगरपािलकामा १ जनामा संक्रमण देखिए पनि सबै जना भारतबाट संक्रमित भएर नेपाल आएका आयितित विरामी हुन स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक केदारनाथ शाहले भने । यस अघि गत वर्ष रुपन्देहीको कोटहीमाई र सम्मारीमाईको एक–एक वडा औलोको जोखिम क्षेत्र रहे पनि अहिले निवारण भएको छ ।
जिल्लामा औलो रोग नियन्त्रणमा भएपनि समग्र लुम्बिनी प्रदेशमा पनि विरामी वर्षेनी घट्दो क्रममै छन । विरामी घट्दो भएपनि स्थानिय भन्दा पनि आयतित रोगीबाट मलेरियाको जोखिम बढि रहेको छ । खुला सिमानाका कारण छिमेकी देश भारत र तेस्रो मुलुकबाट नेपाली फर्केर आउँदा औलो संक्रमण हुने गरेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरिक्षक शाहले जानकारी दिए ।
नेपाल भारत वीचको खुल्ला सीमा नाका, बिना रोकटोक नेपाल भारत आवात जावत तथा परिक्षणको उचित प्रवन्ध नहुदा आयतित बिरामीहरुको बढि रहेको कार्यालयले जानकारी दिएको छ । भारतका बिभिन्न स्थानमा काम गर्ने कामदार, बिभिन्न पर्वहरु मनाउन नेपाल फर्किने नेपाली तथा नेपाल आउने अन्य ब्यक्तिहरुले आफुसंगै औलोको परजिवि संगै लिएर आउने गरेको भेक्टर कन्ट्रोल साहको भनाई छ ।
औलो रोग संक्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाई बाट सर्ने हँुदा लामखुट्टेको टोकाईबाट बच्नु नै औलो रोकथामको सर्वोत्तम उपाय रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डाक्टर राजेन्द्र गिरीले भने । यसको रोकथामको लागि स्वास्थ्य संस्थाहरु मार्फत औलोको निःशुल्क परिक्षण तथा उपचार भइरहेको, देशभरीबाट स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली बाट नियमित रुपमा सूचना संकलन, सुपरभिजन तथा अनुगमन, भेक्टर सर्भिलेन्स भएको उनले बताए ।
नेपालले सन् २०२२ सम्म स्थानीय औलो शुन्यमा पु¥याउने र त्यसको तीन वर्षसम्म शून्यमै कायम राख्न सकेमा मात्र सन् २०२५ मा विश्व स्वास्थ्य संगठनले नेपालमा औलो निवारण भएको प्रमाण पत्र दिन्छ । तर, पछिल्लो समय तराईका जिल्लामा मात्र देखिने औलो पहाडी र उच्च हिमाली जिल्लाका तल्लो तहमा समेत देखिन थाले पछि नेपालले औलो उन्मूलनको लागी सन २०२५ सम्मको लक्ष्य लिएको स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर राजेन्द्र गिरीले भने ।
आयातीत औलो विरामीको संख्यामा तुलनात्मक रुपमा बृद्धि हुनु चिन्ताको बिषय रहेको बताउदै उनले यसको नियन्त्रणको लागी प्रभाकारी काम हुनु पर्ने आवश्यकता रहेको बताए ।
अप्रिल २५ तारेखलाई विश्व औलो दिवसको रुपमा मनाईदै आएको छ । यस बर्ष पनि ‘शुन्य औलोको लक्ष्यमा पुग्दैछौ’ भन्ने नाराका साथ विश्वऔलो दिवस मनाइएको छ । विश्व स्वास्थ्य संगठनले सन् २००८ मा २५ अप्रिललाई विश्व औलो दिवसका रुपमा मनाउने घोषणा गरे अनुरुप नेपालमा पनि सोही दिन यो दिवस मनाईंदै आइएको छ ।
बाहिरबाट संक्रमण आउने क्रम बढ्दो भएकोले आयतित बिरामी बाट नै बढी मात्रामा यो रोग सर्ने गरेको छ । स्वास्थ्य कार्यालय अनुसार यस प्रदेशमा आर्थिक बर्ष ७३÷७४मा देखिएका २७७ जना औलोका बिरामी मध्ये २०५ जना आयतित र ७२ जना स्थानिय बिरामी रहेका थिए, आर्थिक बर्ष ७४÷७५ मा १६४ जना आयतित र ७५ जना स्थानिय, आर्थिक बर्ष ७५÷७६ मा १७८ जना आयतित र ४४ जना स्थानिय र गत आर्थिक बर्ष ७६÷७७मा देखिएका १४३ जना औलोका बिरामी मध्ये १२७ जना आयतित र १६ जना स्थानिय बिरामी रहेका छन ।
समग्रमा संक्रमण घट्दो भए पनि भएका संत्रमण बाहिरबाट आउने क्रम नै छ भेक्टर कन्ट्रोल निरिक्षक शाहले भने ।