बुटवल- बुटवलबाट पहाडी जिल्लामा जानेहरुको यात्रुहरुकाे चाप बढेका छ। कोरोना संक्रमण बढ्दै गएपछि बैशाख १६ गते विहिवारबाट निषेधाज्ञा हुने भएपछि अघिल्लो दिन बुधबार बुटवलको बसपार्कमा चहलपहल बढेको हो। कोरोना संक्रमणका कारण यस अघि नै जिल्लाका शैक्षिक संस्थाहरु बन्द भइसकेका छन् । निषधाज्ञा हुने भएपछि खाद्यान्न, औषधि पसल लगायत सबै व्यवसाय बन्द हुने छ । बालबालिकाको पढाइ, जागिर तथा व्यवसाय बन्द हुने भएपछि कतिपय शहर बजारबाट आफ्नो गाउँघर फर्केका छन्।
बुटवलको बसपार्कमा शहरमा रहेकासँगै भारतबाट आएका नेपालीहरुको पनि चहलपहल रहेको पश्चिम नेपाल बस व्यवसायी प्रालीका सञ्चालक जिवन बन्जाडेले बताए। ‘केही यही बसेका पनि छन्। कतिपय बाहिरी जिल्ला र भारतबाट आएका नेपालीहरु पनि छन्।’ उनले भने ‘ तर दशैंमा जस्तो भिड चाँही छैन।’
घर फर्कनेहरुको भिड बढेपछि नियमित भन्दा केही रुटमा अतिरिक्त गाडी थपिएको वस व्यवसायी प्रालीले जनाएको छ । प्रालिका अर्का सञ्चालक सुरेन्द्रमान श्रेष्ठले अर्घाखाँची जाने यात्रुहरुको बसपार्कमा बढि चाँप रहेको बताए। ‘अर्घाखाँचीको लागि आज मध्यान्नसम्म नियमित भन्दा ९ वटा गाडी थप भएका छन्। साँझ सम्म अरु थपिन सक्छ।’ उनले भने ‘गुल्मी र पाल्पामा अहिले नियमित संख्यामै गाडि चलेका छन् । तर सबै सिट भरिभराउ छ।’
कोरोना संक्रमणकाे जाेखिमका कारण धेरै जसोले सार्वजनिक भन्दा निजी प्रयोग गर्ने गरेका छन्। सिद्धार्थ राजमार्गमा साना गाडीहरुको चाँप अत्याधिक रहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका डिएसपी डिल्लीनारायण पाण्डेले बताए। ‘भोलीबाट बन्द हुने हल्लाले आज सडकमा गाडिको चाँप छ। पहाड तिर गाउँतिर फर्किरहेका छन्।’ उनले भने ‘साना गाडीहरु अझ धेरै छन्। धेरैले आफ्नै साधनमा फर्कदै छन् र कतिपयले साना गाडि रिर्जव गरेर यात्रा गरेका छन्।’
संक्रमण बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट २९ गतेसम्म निषेधाज्ञा लगाइने भएको छ। संक्रमण अझै बढ्दै गएर निषेधाज्ञा पनि थपिन सक्ने अनुमान गरेर धेरैले आफ्नै गाउँघरको बसाइ रोजेका छन्।