काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको मुद्दामा अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंले उनलाई सफाइ दिएको काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिए ।
उनीविरुद्धको मुद्दाको फैसला आज आएको छ । आइतबार नै फैसला आउने तयारी गरिएको भए पनि न्यायाधीश अम्बरराज पौडेलले फैसला टाइपिङमा ढिलाइ भएको कारण सोमबार मात्रै फैसला आउने बताएका थिए ।
पूर्वसभामुख महरालाई संसद् सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा दायर छ । यसअघि जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
महराको पक्षबाट रमण श्रेष्ठ, शेरबहादुर केसी, लभ मैनाली, दीनमणि पोखरेल, भीमार्जुन आचार्यलगायतले बहस गरेका थिए ।
गत कात्तिक १८ गते जिल्ला अदालत काठमाडौंले उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश थियो । पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंका न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले आदेश दिएको थियो ।
थुनामा रहेका महराको तर्फबाट जिल्ला अदालतको आदेश खारेज गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको थियो ।