नवलपरासी-गौतम बुद्धको अस्तु राखिएको नवलपरासीको रामग्राम स्तुपा नजिकै स्थानीय एक बालकको शव गाडिदै थियो। स्थानीय निजी बिद्यालयमा कक्षा १ मा पढ्ने विवेक पासवानको मृत्युपछि शोकाकुल परिवार र स्थानीयले सदगतको लागि शव जलाउनुको सट्टा गाड्न लागेका थिए। तर घटनाले बेग्लै मोड लियो। जिल्ला प्रहरी कार्यालय नवलपरासी (सुस्ता बर्दघाट पश्चिम)ले आधा गाडिसकेको शव नियन्त्रणमा लियो।
रहस्यमय तरिकाले मृत्यु भएको भन्दै केही ब्यक्तिको उजुरीपछि सदगद गर्दै गरेको अवस्थामा प्रहरीले शव नियन्त्रणमा लिएर पोष्टमार्टमको लागि परासीको पृथ्वीचन्द्र अस्पतालमा पुर्याएको थियो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रवक्ता प्रहरी नायब उपरिक्षक बिरेन्द्र थापाले रामग्राम ईङलिस स्कूलमा अध्ययनरत विद्यार्थीको विद्यालयमै शिक्षकद्वारा कुटपिट भई मृत्यु भएको र निजको शवलाई हतारमा गाड्न थालिएको जानकारी आएपछि थप अनुसन्धानको लागि शवलाई नियन्त्रणमा राखिएको बताए। उनले शव पोष्टमार्टमको लागि काठमाडौं पठाइएको र विद्यालयको सीसीटिभी फुटेज हेरेर सुक्ष्म अनुसन्धान गरिरहेको बताए।
विद्यालयमा कुटाईबाट विद्यार्थीका मृत्यु भएको र प्रहरीले गाड्न लागेको शव नियन्त्रणमा लिएपछि घटनाले चर्चा पाएको छ। रामग्राम नगरपालिका वडा नम्बर ७ उज्जैनी बस्ने नौं वर्षीय विवेक पासवान स्थानिय रामग्राम इङलिस स्कूलमा कक्षा १ मा अध्ययनरत थिए। अन्य दिन जस्तै सामान्य रुपमा बिद्यालय गएका विवेक गत शुक्रबार विद्यालयबाट घर फर्किदा भने सामान्य थिएनन्। सोही विद्यालयमा ७ कक्षामा अध्ययनरत फुफु अंकिता पासवानले करिव वेहोस अवस्थामा उनलाई घर लिएर आएकी थिइन।
विद्यालयमा होमवर्क नगरेको भन्दै शिक्षिका प्रतिमा रजकले कुटेपछि उनको स्थिति बिग्रेको र उनलाई विद्यालयले उपचार नगरिंदा विवेकको अवस्था विग्रेको अंकिताले बताइन।
घर पुर्याईएका विवेकलाई नवलपरासीकै पृथ्वीचन्द्र अस्पताल, स्थानीय क्लिनिक, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज भैरहवा हँदै चितवन उपचारको लागि पुर्याई पनि अन्ततः आइतबार उनको मृत्यु भयो। बाबु बैजनाथ पासवान बैदेशिक रोजगारीको लागि बाहिर छन्। उपचारमा आमा अंगिरा पासीले अथक प्रयास गरिन तर उनको केही लागेन । अहिले उनको आँशु थामिएकै छैनन् । दुई छोरा मध्ये जेठो छोराको मृत्यु भएपछि अहिले अर्धबेहोसी अस्पतालमा छिन्।
बिहान सामान्य रुपमै बिद्यालयमा पुर्याएको छोरा शिक्षिकाको कुटाइबाट टाउकोमा गम्भीर चोट लागेर मृत्यु भएको आमा अंगिरा पासीको आरोप छ। कुनै प्रकारको बिरामी नरहेको छोरा विवेकको टाउकोमा गम्भीर असर परेर मृत्यृ भएको उनको आरोप छ। अस्पतालमा नै उनको टाउकोमा चोट देखिएको बताएको अंगिराको भनाई छ।
यता विद्यालयले भने उक्त आरोपको खण्डन गर्दै अनुसन्धानमा आफुहरुले पूर्ण रुपमा सघाउने प्रतिवद्धता जनाएको छ । स्कूलका प्रधानाध्यापक राधेरमण पाण्डेले विद्यालयमा विवेकलाई कुनै प्रकारको कुटपिट नगरिएको दावी गरे। उनले केही ब्यक्तिले आफुलाई ‘ब्ल्याकमेलिङ’ गरी १० लाख रुपैयाँ माग गरिएको आरोप समेत लगाए। पाण्डेले प्रत्येक कक्षाकोठामा सीसीटिभी क्यामेरा जडान गरिएको र क्यामेराबाट प्राप्त दृश्यहरुमा त्यस्तो केही नदेखिएको बताए।
विद्यार्थीको मृत्यु भएपछि उज्जैनी गाँउ शोकमा डुबेको छ भने विद्यालयका बिद्यार्थीहरु पनि उत्तिकै त्रसित देखिएका छन्। अभिभावक र विद्यालय प्रशासनको आरोप प्रत्यारोपको बिच काठमाडौंको पोष्टमार्टम रिपोर्ट र प्रहरीको अनुसन्धानले मात्र घटनाको सत्यतथ्य बाहिर आउने छ।