बुटवल । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक खण्डमा सुरुङ मार्ग बनाउन आइतबार टेण्डर आह्वान गरेको छ । एउटा डबल लेनको हाइवे टनेल, रक शेड संरचना, रक फल मिटिगेशन र सुरुङमार्गको सडक निर्माणका लागि मन्त्रालयले ग्लोबल टेण्डर आह्वान गरेको हो ।
४५ दिनको समय दिएर सुरुङमार्गको टेन्डर आह्वान भएको हो। सुरुङमार्गको लागि रुपन्देही २ का सांसद तथा अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि पहल गर्दै आएका थिए। उनले अर्थमन्त्री भएपश्चात् रुपन्देही आउँदा सुरुङमार्गको काम आफ्नै कार्यकालमा अघि बढाउने विश्वास दिलाएका थिए।
अर्थमन्त्री पौडेलले सुरुङ निर्माणका सबै प्रक्रिया सुरु गरेर समयमै काम सुरु हुने बताएका छन्। उनले आयोजना निर्धारित मितिमै सम्पन्न हुने समेत जानकारी दिए। सिद्धबाबामा खसिरहने पहिरोबाट हुुने जनधनको क्षति रोक्न यो आयोजना महत्वपूर्ण रहने नेता पौडेलको भनाइ छ।
यो सडक खण्ड प्रयोग गरेर गुल्मी, पाल्पा अर्घाखाँची, स्याङ्जा, पोखरा, बाग्लुङ, हुँदै बेनीसम्म गाडी चल्ने गर्छन् । हिउँदो होस या वर्षायाम जुनुसकै बेला झर्ने चट्टान सहितको पहिरो खस्दा यात्रुले अकालमै मृत्यु हुुने गरेको छ ।
सडक विभागका प्रवक्ता ई. शिवप्रसाद नेपालले सुरुङमार्ग निर्माण प्रक्रियामा प्रवेश गरेको बताउँदै असार २३ गते दिउँसो १२ बजेभित्रै योग्य निर्माण कम्पनीहरुलाई बोलपत्र आह्वान गरिएको जानकारी दिए ।
सुरुङमार्ग निर्माणका लागि सरकारले यसअघि स्वीस सरकारको सहयोगमा सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार गरिसकेको छ भने अर्थमन्त्रालयले अघिल्लो बर्ष नै १० अर्ब १५ करोड रुपैयाँ बजेट सुनिश्चितता पनि गरिसकेको छ ।
पहिरोको उच्च जोखिमको क्षेत्र रहेकाले सिद्धबाबा सडकमा लामो समयसम्म सुरुङमार्ग निर्माण गर्ने चर्चा चलेको भएपनि पहिरो न्यूनिकरणका अन्य सम्भाव्यताहरुको समेत अध्ययन भइरहेकाले सुरु भएको थिएन ।
तर अवभने निर्माण प्रक्रियाको औपचारिक थालनी भएको मन्त्रालयले जनाएको छ । सुरुङमार्ग निर्माण गर्न कम्तिमा ८ अर्ब रुपैयाँ लाग्ने स्वीस अध्ययनले देखाएको थियो । निर्माण सम्पन्न गर्नेबेलासम्म यसको लागत थप बढ्ने अनुमान गरिएको छ । सोही अनुसार नै टेण्डर आह्वान गरिएको सडक विभागका प्रवक्ता नेपालले जानकारी दिए ।
भारत सरकारको सहयोगमा झण्डै आधा शताब्दी अघि निर्माण कार्य पूरा भएको सिद्धार्थ राजमार्गको सिद्धबाबा खण्ड (बुटवलको चिडिया खोलादेखि दोभानसम्म) सात किलोमिटर अत्यन्त जोखिमयुक्त सडक हो । अहिले सुरुङमार्ग बाहेक एशियाली विकास बैंकको सहयोगमा सिद्धार्थ राजमार्गको स्तरोन्नतीको काम पनि भइरहेको छ । त्यस्तै सडक विभागले बर्तुङ–तमघास खण्डको समेत स्तरोन्नति गरिरहेको छ ।