बुटवल–फोहर व्यवस्थापन बुटवलको लागि एक प्रमुख चुनौती बनेको छ। यसको स्थायी समाधानको लागि काम अघि बढ्न सकेको छैन। बुटवलको शिवनगर सामुदायिक वन क्षेत्रमा फोहर व्यवस्थापन गर्ने योजना अघि सारेको भएपनि आयोजना नजिकै पर्ने देबदह चरंगेका बासिन्दाको विरोधका कारण आयोजना अघि बढ्न सकेन। जसका कारण एशियाली विकास बैंकको योजना फिर्ता गएको थियो। त्यसपछि स्थायी फोहर व्यवस्थापनको योजना अन्योलमा छ।
स्थायी समाधान गर्न नसकेको बुटवल उपमहानगरपालिकाले फोहर व्यवस्थापनको लागि फेरि अर्को अस्थाइ ठाउँको खोजी गरेको छ। उपमहानगरले १७ नम्बर वडाको तिनाउ किनारमा अस्थायी ल्याण्डफिल्ड साइट बनाउने निर्णय गरेको छ। अहिले बुटवलको फोहर वडा नम्बर ११ को हात्तीसुढ क्षेत्रमा फाल्ने गरिएको छ। फोहर फालिएको स्थानमा बाक्लो बस्ती छ। हाल प्रायोगमा आएको हात्तीसुढ क्षेत्रमा ठाउँ अभाव हुने भएकाले फोहर व्यवस्थापनको लागि नयाँ ठाउँ प्रयोग गर्ने निर्णय गरिएको नगरकार्यपालिकाको निर्णयमा उल्लेख छ।
उपमहानगरपालिकाले बनाएको अस्थायी ल्याण्डफिल्ड साइटको सम्भावित स्थल पहिचान तथा सिफारिस कार्यदलले मोतीपुर क्षेत्रको मगरघाट भन्दा दक्षिण क्षेत्रको ठाउँ सिफारिस गरेको हो। कार्यदलको सिफारिसअनुसार उपमहानगरको कार्यपालिकाले सोही ठाउँमा अस्थायी ल्याण्डफिल्ड साइट बनाउने निर्णय गरेको छ।
‘हाल प्रयोग भइरहेको ल्याण्डफिल्ड साइटमा ठाउँ अभाव हुने देखीएकाले’ नगरपालिकाको निर्णयमा भनिएको छ ‘कार्यदलले सिफारिस गरेबमोजिम वडा नम्बर १७ को उपयुक्त भनि सिफारिस गरिएको स्थानमा तत्काल आवश्यक पूर्वाधार तयार गरी अस्थायी ल्याण्ड फिल्ड साइट प्रयोग गर्ने निर्णय गरियो।’
कार्यदलले अस्थायी ल्याण्ड फिल्डको लागि २ वटा ठाउँलाई विकल्प छानेको बुटवल १७ का वडाध्यक्ष सन्तबहादुर रानाले बताए। ‘हरिहरपुर देखी पूर्व दक्षिणतर्फ र रानीगञ्जको बस्तीको दक्षिणतर्फ दुवै स्थानमा खाडल भएको ठाउँ छ’–उनले भने–‘कार्यदलले ठाउँ हेरेको छ, कुन ठाउँमा राख्ने भन्ने तय भएको छैन।’ वडाबासीहरुसँग छलफल गरेर एउटा ठाउँ तोकिने वडाध्यक्ष रानाले बताए।
उनले ल्याण्ड फिल्ड साइटको कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा छलफल भइरहेको बताए। ‘सवारी साधनहरुमा हल्लाउँदै ल्याएर झार्ने कुरा भएन–उनले भने–बाटोमा फोहर नझर्ने खालको डम्फरहरु किन्नुपर्ने हुन्छ।’
बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले १७ नम्बर वडामा फोहर व्यवस्थापनको लागि स्थानिय सँग छलफल भइसकेको र वातावरणीय अध्ययन बाँकी रहेको बताए। ‘त्यहाँका स्थानीयहरुको समन्वयकै आधारमा कार्यदलले सिफारिस गरेको छ–उनले भने–पर्यावरणीय वातावरणीय हिसाबले कस्तो छ, कति बजेट लाग्ने भन्ने कुरामा अध्ययन गर्नुपर्ने हुन्छ। त्यसको तयारी हुँदैछ।’
मोतीपुरमा बन्ने ल्याण्डफिल्ड तत्कालका लागि मात्र हुने र स्थायी समाधानको लागि छिमेकी नगरपालिकाहरुसँग मिलेर अघि बढ्ने योजना रहेको रेग्मीले बताए।
‘दीर्घकालीन समाधानको लागि बहुआयामिक आयोजना लागि हामी कहाँ सञ्चालन हुनुपर्ने आवश्यकता छ–उनले भने–छिमेकी नगरपालिकाहरु अर्थात कपिलवस्तुको बाणगंगा नगरपालिकासम्म मिलेर ठाउँ तय गर्यौं भने दीर्घकालीन हुन्छ भन्ने कुरा भएको छ। यसमा प्रदेश सरकारको पनि समन्वय गरेर अघि बढ्नुपर्ने हुन्छ।’