भैरहवा - रुपन्देहीको भैरहवा क्षेत्रका मुख्य सडकको डिभाइडरमा बुद्धमूर्ति राख्ने काम भइरहेको छ। भैरहवाको बुद्ध चोकदेखि निर्माणाधीन गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन अगाडिसम्म मूर्ति राख्ने काम जारी छ।
पहेंलो धातुले लेपन गरिएका मेटलका मूर्ति सडकको बीच भाग (डिभाइडर) मा ठडाउन सुरु गरिएको हो। लुम्बिनी प्रदेश सकार पर्यटन मन्त्रालय अन्तर्गत पर्यटक डिभिजन कार्यालयले उपलब्ध गराएको ७५ लाख रुपैयाँबाट अहिले मूर्ति राख्ने काम भइरहेको हो।
कार्यालयले उपभोक्ता समिति गठन गरेर मूर्ति राखिरहेको हो । उपभोक्ता समिति अध्यक्ष भरतकुमार पोखरेलले चालु आर्थिक वर्षभित्रै बुद्ध चोकदेखि गौतमबुद्ध विमानस्थलसम्म १९ वटा बुद्धमूर्ति राखिने जानकारी दिए। ‘सिद्धार्थनगरलाई बुद्धमय बनाउने अभियान अन्तर्गत अहिले मूर्ति राख्ने काम जारी छ । यसले नगरको सुन्दरता थप गर्ने छ ।’ उनले भने।
पोखरेलका अनुसार कोरोना महामारीले मूर्ति राख्न केही ढिलाइ भए पनि आबभित्रै सबै मूर्ति राख्ने गरी दु्रत गतिमा काम भएको छ । ‘डेढ महिना अघि मात्रै उपभोक्ता समिति गठन भएको हो। यसबीचमा निषेधाज्ञाले काममा केही ढिलाइ भएको छ। तर पनि हामीले रातदिन नभनी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर काम गरिराखेका छौं’, उनले भने।
अहिले मूर्ति राख्नका लागि पिलर बनाउने काम अन्तिम चरणमा पुगेको छ। काठमाडौंको पाटनमा तयार भएका ६ वटा मूर्ति भैरहवा ल्याएर जडानको काम भइरहेको छ। ‘बाँकी मूर्ति पनि आवभित्रै तयार हुन्छन्, त्यसपछि हामीले यहाँ ल्याएर जडान गर्नेछौं’, उपभोक्ता समिति कोषाध्यक्ष कृष्ण भट्टराईले भने।
अघिल्लो आर्थिक वर्षमा सिद्धार्थनगर नगरपालिकाले बुद्धमूर्ति व्यवस्थापन उपभोक्ता समिति गठन गरेर भैरहवाको अंचलपुरदेखि बेलहिया बाइपास सडकसम्म बुद्धमूर्ति राखेको थियो । त्यसबेला नगरले ४६ लाख रुपैयाँ उपलब्ध गराएको थियो भने उपभोक्ता समितिले विभिन्न संघसंस्था र उद्योगी–व्यवसायीसँग सहकार्य गरी २५ लाख रुपैयाँ सहयोग उठाएर मूर्ति व्यवस्थापनको काम गरेको थियो ।
उक्त रकमबाट अघिल्लो वर्ष १९ वटा बुद्धमूर्ति सडक डिभाइडरमा राखिएको छ । सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले नगरपालिकालाई बुद्धमय बनाउने अभियानअनुसार मूर्ति राख्ने काम भइरहेको जानकारी दिए । उनले भने, ‘यो शान्तिभूमि, पर्यटकीय नगर हो । यहाँ जति सुन्दरीकरण गर्न सक्यौं । यसले नगरको गरिमा मुलुकमा मात्रै नभई देशविदेशमा पनि जान्छ ।’