कपिलवस्तु- कपिवस्तुको शिवराज नगरपालिका र विजयनगर गाउँपालिकामा बुधबार राती अज्ञात समूहले हुलाकी मार्ग निर्माणमा प्रयोग भएका ६ वटा विभिन्न साधनमा आगजनी गरेको छ।
जिल्लाको शिवराज नगरपालिकाकोे वडा नं. ९ तुरुन्तपुरमा बुधबार राती पौने १ बजे १ वटा स्काभेटर अज्ञात समूहले जलाएको प्रहरीले जनाएको छ।
विजयनगर गाउँपालिकाको वडा नं. २ लोहोरौलामा १ वटा स्काभेटर , २ वटा जेसिभी, २ वटा पिकअप बलेरो जलाएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए।
आगजनी भएका साधन हुलाकी मार्ग निर्माणको जिम्मा पाएको शर्मा एण्ड शर्मा कम्पनीको रहेको प्रहरीले जनाएको छ । ना १ क ९०६९, बा २ क ८७२९ नंम्बरको जेसिभी, बा १९ च ६६४७, बा १६ च ५२५० नंम्बरको बोलेर र से १ क ७० , बा २ क १४७३ नम्बरको स्काभेटरमा आगजनी भएको गणेशपुर प्रहरीले जनाएको छ।
राती सडक बनाउने कामदारलाई अज्ञात समूहले कोठामा बन्द गरी साधनहरुमा आगजनी गरेको प्रहरी निरिक्षक नेपालले जानकारी दिए। कृष्णनगरबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको छ। आगो कस्ले किन लगाएको भन्ने अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिवस्तुका डिएसपि सुनिल मल्लले बताए।