कपिलवस्तु-कपिलवस्तुका माओवादी जिल्ला सदस्य दीपक पाण्डेको हत्यामा उनकै श्रीमती संलग्न रहेको खुलेको छ।
कपिलवस्तु नगरपालिका-१ का ३४ वर्षीय पाण्डेमाथि जेठ ५ गते राति गोली प्रहार भएको थियो। उनको उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजबाट काठमाडौं लैजाने क्रममा जेठ १० गते मृत्यु भएको थियो।
उक्त घटनाका मुख्य योजनाकार ओमप्रकाश यादव र पाण्डेकी श्रीमती महिमा पाण्डे रहेको खुलेको छ। श्रीमानलाई मार्न महिमा पाण्डेले पटक पटक विभिन्न मानिसहरुलाई प्रयोग गरेको खुलेको प्रहरीले जनाएको छ।
यो घटनामा श्रीमतीसहित संलग्न ११ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
मुख्य योजनाकार कपिलवस्तु-१ का ३९ वर्षीय यादव जनता समाजवादी पार्टीका लुम्बिनी प्रदेशसभा सदस्य सहसराम यादवका स्वकीय सचिव हुन्।
यादव जनता समाजवादी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियनका लुम्बिनी प्रदेश अध्यक्षसमेत हुन्।
५ गते राति ११ बजे मोटरसाइकलमा रहेका तीन चार जना व्यक्तिले पाण्डेलाई गोली हानेका थिए।
लु१६प ३४९७ नम्बरको मोटरसाइकलको पछाडि रहेका रमजान साह मुसलमान र साकिर अलि पखियाले पाण्डेलाई दुई वटा पेस्तोलबाट एक-एक गोली हानेका थिए।
कपिलवस्तु प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीका अनुसार यादवको साथबाट पेस्तोल, म्यागजिन, २२ म्याग्नमको ६८ राउन्ड गोली बरामद भएको छ।
यस्तै, मुसलमानको साथबाट मेड इन युएसए पेस्तोल एक थान, म्यागजिन र ८ राउन्ड गोली बरामद भएको छ। उनले पाण्डेलाई मार्न यादवबाट एक लाख रूपैयाँ लिएका थिए।
उनले पाण्डेको गतिविधि निगरानी गर्ने, हतियार किन्ने, साथमा राख्ने काम गरेका थिए।
पखियाले पाण्डेलाई मार्न ओमप्रकाशबाट बैनावापत् सुपारी लिने, हतियार लिने र साथमा राख्ने काम गरेका थिए।
यो घटनामा कपिलवस्तु नगरपालिका-१ आनन्दबागका ३५ वर्षीय पूर्णवीर पाल्पाली, वडा नम्बर २ का सद्दाम हुसेन खान, यशोधरा गाउँपालिका-४ का ज्ञानेन्द्रकुमार पाण्डेय, सोही ठाउँका राधेश्याम चौधरी, कपिलवस्तु-५ का श्रीराम कुर्मी, कपिलवस्तु १ का नरसत अली र वडा नम्बर २ का प्रवीण गुप्ता पक्राउ परेका छन्।
महिमा पाण्डे र यादवबीचको अनैतिक सम्बन्ध श्रीमानले थाहा पाएका कारण विगत पाँच वर्षदेखि ओमप्रकाश र दीपकबीच मनमुटाव थियो।
यो सम्बन्धबाट दीपक चिढिएपछि महिमाले नै पटक-पटक उनलाई मार्ने योजना बनाउन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका ७ जनालाई महिमाले विगत २ वर्षदेखि प्रयोग गर्दै आएकी थिइन्।
पक्राउ परेकालाई कर्तव्य ज्यानमुद्दा, हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको छ।
पक्राउ परेका व्यक्तिमध्ये साकिर अली पखिया हातहतियार तथा खरखजना मुद्दामा २०६४ साल वैशाख ५ गते पक्राउ परेका थिए। त्यसबेला उनी दुई वर्ष जेल बसेर छुटेका थिए।