पाल्पा-सिद्धार्थ राजमार्गको तानसेन-बुटवल खण्डका घुम्ती कटान गरेर सडक स्तरोन्नति गर्ने काम शुरु भएको छ। आज शनिबारदेखि यही चैत १२ गतेसम्म दैनिक ८ घण्टा सडक बन्द गरेर घुम्ती कटान गरिने डिभिजन सडक कार्यालयले जनाएको छ।
घुम्तीका कारण अत्यधिक दुघर्टना भएपछि सडक डिभिजनले घुम्ती काट्ने कामलाई अघि बढाएको हो। राजमार्ग पुनःस्थापना तथा स्तरोन्नति कार्यक्रमअन्तर्गत घुम्ती काट्न लागिएको हो। जोखिमपूर्ण घुम्ती व्यवस्थापन गर्नका लागि समय तोकेर सडक बन्द गरेको कार्यालयले जनाएको छ।
निर्माण व्यवसायीको अनुरोधमा जिल्ला प्रशासन कार्यालयमा भएको सरोकारवालाहरुको बैठकले घुम्ती बढाउने काम सहज बनाउन सडक बन्द गरेर काम थालेको हो। यात्रुलाई समस्या नपर्ने गरी काम गर्ने र सडक खुल्ने समय तोकेको डिभिजन सडक कार्यालयका प्रमुख मुकुन्दराज अधिकारीले जानकारी दिए। सडक सुधारको कामका बेला आम सर्वसाधारणलाई असहज नहोस् भनी तालिकाअनुसार सूचना सार्वजनिक गरि निर्माण कार्य थालेको उनले बताए।
बिहान ७ देखि ९ बजेसम्म, दिउँसो १२ देखि ३ बजेसम्म र राति ८ बजेदेखि ११ बजेसम्म सडक बन्द हुनेछ। तोकिएको समय बाहेक अन्य समयमा भने सवारी साधन यथावत रुपमा चल्न दिने जिल्ला ट्राफिक प्रहरी प्रमुख पृथ्वी काफ्लेले बताए। उनका अनुसार यसअघि कालीमाटीको घुम्ती कटान गर्दा सर्वसाधारण यात्रुको गुनासो आएकाले अहिले समय तोकेर नै सडक स्तरोन्नति गर्न लागेको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए।