बुटवल - रुपन्देहीमा मंगलबारबाट निषेधाज्ञा थप खुकुलो हुने भएको छ । जिल्ला स्तरिय कोरोना संकट व्यवस्थापन समिति डीसीसीएमसीको सोमबार बसेको बैठकले नीजि सवारी साधन चल्न पाउने गरि निषेधाज्ञा खुकुलो गर्ने निर्णय गरेको हो ।
तर सवारी साधन चल्दा जोर-विजोर प्रणाली अनुसार चल्नु पर्ने जिल्ला प्रसासन कार्यालय रुपन्देहीका प्रशासकिय अधिकृत जनक थापाले बताए। ‘जोर गते जोर नम्बरका सवारी साधन र विजोर गते विजोर नम्बरका सवारी साधन चलाउन पर्ने छ।' उनले भने 'यो नीजि सवारी साधनको लागि मात्र हो । सार्वजनिक सवारी साधन अझै खुला भएको छैन ।'
यस्तै डीसीसीएमसीको बैठकले भोलीबाट सबै सरकारी कार्यालय खोल्ने निर्णय पनि गरेको छ । यस अघि अत्यावश्यक कार्यालयहरु मात्र खुलेका थिए ।
कोरोना संक्रमण तिब्र रुपमा बढ्दै गएपछि रुपन्देहीमा बैशाख १६ गतेबाट निषेधाज्ञा जारि गरिएको थियो । असार १ गतेबाट भने निश्चित समय पसल र व्यवसाय सञ्चालन गर्न पाउने गरि निषेधाज्ञा खुकुलो गरिएको थियो । भोलीबाट निषेधाज्ञालाई थप खुकुलो बनाउने निर्णय भएकाे हाे ।