बुटवल-कोरोना संक्रमण तीब्र रुपमा बढेपछि रुपन्देहीमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो। संक्रमण घटेको भन्दै असारदेखि क्रमश: विभिन्न क्षेत्र खुला गर्दै निषेधाज्ञा खुकुलो बनाइएको छ।
खुकुलो स्वरुपको निषेधाज्ञामा केही व्यवसाय तथा गतिविधि माथि अझै निषेध नै गरिएको छ। निषेध गरिएको भएपनि ती व्यवसाय निर्वाध चलेका छन्।
गत असार ८ गते देखि नीजि सवारी साधन र १५ गतेबाट सार्वजनिक सवारी साधन जोर–विजोर प्रणालीमा सञ्चालन गर्न दिइएको छ।
जोर–बिजोर प्रणाली भएपनि सडकमा सबैजसो सवारी साधन निर्वाध चलेका देखिन्छन्। बुटवलका व्यस्त सडकमा जोर–विजोर दुबै प्रकारका गाडी गुडिरहेकै छन्। तर निषेधाज्ञाको कार्यान्वयन गर्न नागरिक आफैमा सजग छैनन् न त प्रभावकारी चेकजाँच भएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेयले सडकमा दुबै खाले सवारी साधन गुडेको बताए। तर आवश्यक ठाउँमा चेकजाँच गरेर कारवाही गरिएको दाबी पनि गरे।
‘सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली कार्यान्यवन भएको छ। नीजिमा दुबै प्रकारका गाडी चलिरहेको देखिन्छ। राम्रोसँग कार्यान्वयन भएको छैन’-उनले भने-‘हामीले चेक जाँच पनि गरिरहेका छौं। तर सवारी चालकहरुले विभिन्न समस्या र बाध्यता बताउने गरेका छन्।’
चेकजाँचका क्रममा निकै जरुरी काम भएकालाई छोड्ने गरेको र बाँकीलाई केहीबेर नियन्त्रणमा राख्ने गरिएको पाण्डेयले बताए। उनले बुटवलका योगिकुटी, राजमार्ग चौराह, रामनगर, मिलनचोक, ट्राफिकचोक, गोलपार्क लगायतका ठाउँमा चेकजाँच गर्ने गरेको जानकारी दिए।
शहर बजारका मुख्य सडक क्षेत्रमा चेकजाँच गरेको त भनिएको छ, तर जोर बिजोर प्रणाली कामचलाउ मात्रै देखिन्छ। जिल्लाका बाँकी ठाउँहरुमा चेकजाँच नहुँदा निर्वाध सबै प्रकारका सवारी साधन चल्ने गरेका छन्।
सरकार आफै लापरबाही गरिरहेछ
संघ, प्रदेश र स्थानीय सरकारले कोभिडबाट बच्नका लागि भन्दै अनेक उपायका नारा प्रचार गरिरहेका छन्। संघीय सरकारमातहत रहेको जिल्ला प्रशासन कार्यालयका आदेश पालना गराउन सुरक्षाकर्मीकै आलटाल देखिन्छ। दिनमा १ घण्टा कडाई गरेजस्तो गर्ने र दिनभर मनपरी गर्न दिने कामचलाउ कामले असावधानी बढ्दै गएको छ। आमसर्वसाधारण जोखिमको पत्तो नै नपाएजसरी लापरबाही गरिरहेका छन्।
लुम्बिनी प्रदेश सरकारले तामझामका साथ कार्यक्रमहरु गरिरहेकै छ। मुख्यमन्त्री शंकर पोखरेल र मन्त्रीहरु सहभागी भएर ठूलो संख्यामा वृक्षरोपणदेखि छलफल अन्तरक्रिया, सम्मान, शिलान्यास, उद्घाटनजस्ता कार्यक्रम गरिरहेका छन्।
१४ असारमा लुम्बिनी प्रदेशको उद्योग वन तथा वातावरण मन्त्रालयले बाजागाजासहितको कार्यक्रम गर्दै एकै स्थानमा एक घण्टामा २० हजार रुखबिरूवा रोपेको थियो। जसमा मुख्यमन्त्री पोखरेल, वातावरणमन्त्री कल्पना पाण्डेलगायत सांसद, कर्मचारी, पार्टी नेता कार्यकर्ता र स्थानीय सहभागी थिए।
सभा सम्मेलन गोष्ठी सेमिनारलाई निषेध गरेको भएपनि सरकारी निकायबाटै गोष्ठी, सेमिनार भइरहेकै छन्। लुम्बिनी प्रदेशका मन्त्रालयहरुकै आयोजनामा दैनिकजसो कार्यक्रम हुने गरेका छन्।
बुधबार बुटवलमा स्वास्थ्य मन्त्रालयले पत्रकारसँग अन्तरक्रिया गर्यो भने अघिल्लो साता आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहयोगमा दाङको भालुवाङमा प्रदेशका सबै जिल्लाका पत्रकार भेला गरेर कार्यक्रम भयो। यस्तै बुधबार दाङको भालुवाङमा ग्रामीण तथा शहरी विकास मन्त्रालयको कार्यालय स्थापना तथा कार्यारम्भ गर्दा पनि भीडभाड भेला पारेरै कार्यक्रम भयो।
यसरी सरकारी निकायबाट दुरी कायम गरेर सञ्चालन गर्ने भनिएपनि सहभागीहरुबाट दुरी कायम र सावधानीका कुनै उपाय अपनाइएको पाइँदैन।
सरकारले नखोल्न भनेका पार्टी प्यालेसमा आफै कार्यक्रम गर्दै असारे बजेट सक्ने ध्याउन्नमा छ। स्वास्थ्य मन्त्रालयले आफै अन्तरक्रिया गरेको छ।
स्थानीय तहहरुले पनि असार मसान्तको समयमा हतार हतार कार्यक्रमहरु आयोजना गरिरहेका छन्। विवाह, पूजाआजामा जमघट नगर्ने भनिएपनि कार्यान्वयन भएको पाइँदैन।
पसल तथा व्यवसायहरुमा छैन मापदण्डको कार्यान्वयन
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो आदेशमा माछामासु, तरकारी, फलफूल, दुधजन्य सामग्री बिहान ५ बजेदेखि ८ बजेसम्म मात्र सञ्चालन गर्न भनिएको छ।
तर निषेधाज्ञा खुकुलो भएसँगै यी पसलहरु दिनभर जसो नै खुला देखिन्छन्। अन्य पसल तथा व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म मात्र खोल्न भनिएको तोकिएको समय बाहेकका समयमा समेत पसलहरु खुलेका छन्। पसलहरुमा भिडभाड समेत देखिन्छ।
निषेध गरिएका सैलुनदेखि ब्युटीपार्लर खुले, होटल रेष्टुरेन्टमा पनि भीड
पछिल्लो निषेधाज्ञा सम्बन्धी आदेशमा सबै प्रकारका सभा, पार्टी प्यालेश, सिनेमाहल, सेमिनार तालिम गोष्ठी, सम्मेलन सैलुन, मनोरञ्जनस्थल, व्युटीपार्लर र स्विमिङ पुल, संग्रहालय, पुस्तकालय, समूहमा खेल्ने खेलकुद, जिमखाना र हाटबजार आदि सञ्चालन नगर्ने भनेर उल्लेख गरिएको छ।
तर यी अधिकांश व्यवसायसँगै शैलुन र व्युटीपार्लरका पसल खुलेकै देखिन्छ। हाटबजार जसरी चोकचोकमा भीड लगाएर ठेलामा सामान बेचेकै देखिन्छ। बन्द गर्न भनिएका र टेक अवेमात्रै चलाउने भनिएका होटलहरु पनि राती अबेरसम्म खुल्ला हुने गरेका छन्। केही ठाउँका खेलकुदका स्थानहरु, फुटसल र केही कभर्ड हल बिहानमा सञ्चालनमा छन्। यी क्षेत्रमा स्थानीय प्रशासनको चासो नै छैन।
निषेध गरिएका र समय तोकिएका दुबै प्रकारका व्यवसाय सञ्चालनहुँदा स्वास्थ्य मापदण्डको पालना समेत भएको देखिँदैन । पसलहरुमा दुरी कायम भएको देखिँदैन।
माक्स, सेनटाइरको प्रयोग पनि भएको पाइँदैन। जिल्ला प्रशासन कार्यालयले सम्बन्धित उद्योग वाणिज्य संघ वा व्यापार संघलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउने स्वयंसेवक परिचालन गर्न भनेको छ, तर यी संस्थाहरुले त्यसरी मापदण्ड पालना गराएका छैनन्।
बुटवल उद्योग वाणिज्य संघका वाणिज्य उपाध्यक्ष नरिश्वर शर्मा पौडेलले आफूहरुले मापदण्ड पालना गर्न व्यवसायीहरुलाई भनेको बताए। 'अलि अस्ती हामीले सचेतनाको लागि माइकिङ पनि गर्यौं । संघका वस्तुगत समितिलाई पनि आ-आफ्नो क्षेत्रमा मापदण्डको पालना गराउनुस भनेका छौ।’ उनले भने ‘केही व्यवसायीले अटेर गर्नुभएको छ । मापदण्ड पालना गराउन हामीले इलाका प्रहरी कार्यालयसँग पनि समन्वय गरेका छौं।’
रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद घिमिरेले पनि मापदण्ड पालना गराउन संघ मातहतका व्यवसायीहरुलाई भनेको बताए। ‘सबै व्यवसायीहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न हामीले सुचना गरेका छौं। धेरैले गर्नुभएको छ। केहीले नगर्नुभएको होला’-उनले भने-हामी आफैंले पनि संघको बैठक भर्चुअल रुपमै गर्ने गरेका छौं।’
आदेशपालनाको औपचारिकता
जिल्ला प्रशासन कार्यालयले आदेश गर्ने कार्यान्वयन नगर्ने प्रचलन देखिएको छ। कार्यान्वयन गराउने निकायले पनि चासो दिएको पाइँदैन। यो चेकजाँचमा खटिएका सुरक्षाकर्मीको मुडको भरमा चलेको छ।
कसैलाई निषेधाज्ञा उल्लंघन गरेको भनेर जरिवाना तिराउनेसम्मका सजाय दिइएको छ भने कसैले होटल, रेष्टुरेन्ट, फुटसल, कभर्ड हल चलाउँदा नदेखेजस्तै गरिएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापा मापदण्डहरु उल्लंघन भइरहेको र प्रहरीले कारवाही पनि गरिरहेको बताउँछन्।
‘भैरहवामा पनि पसल सञ्चालकहरुलाई निन्त्रणमा लिएका थियौं। जिल्ला प्रहरी मातहत अन्य इकाइहरुलाई पनि मापदण्डको कार्यान्वयन गराउन भनेका छौ।’ उनले भने ‘प्रहरीले जनशक्ती र क्षमताले भ्याएसम्म मापदण्ड पालना गराउन लागेको छ ।’
बढ्दैछ संक्रमण
पछिल्लो समय निषेधाज्ञा खुकुलो हुँदा रुपन्देहीमा कोरोना संक्रमण दर फेरि बढेको छ। खुकुलो गरिएको निषेधाज्ञामा मापदण्ड पनि पालना नगर्ने र नगराउने हो भने जोखिम फेरि बढ्ने छ।
संक्रमणदर बढ्दै गएको रुपन्देहीको तथ्यांकले देखाउँछ। पछिल्ला ११ दिनयता सक्रिय संक्रमितको संख्या उकालो लागिरहेको छ।
बुधबारसम्मको तथ्याङ्क अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्यामा पछिल्लो पटक १२ जना थपिएका छन्। यो संख्या बुधबारसम्म २४ घण्टाको नभई यसअघि छुट्न गएका मृतकको संख्या रहेको स्वास्थ्य कार्यालयले बताएको छ। योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच सय दुई पुगेको छ।
पछिल्लो पटक थपिएकामध्ये बुटवलका ११, सिद्धार्थ नगरका १०, तिलोत्तमाका १२, सैनामैनाका ६, कञ्चनका २ र देवदहका १ जना रहेका छन्।
हालसम्म जिल्लामा कुल कोरोना संक्रमितको संख्या २८ हजार पाँच सय ९२ पुगेको छ। तीमध्ये ९७ प्रतिशत निको भइसकेका छन् भने दुई प्रतिशतले ज्यान गुमाएका छन्। बाँकी एक प्रतिशत सक्रिय संक्रमित रहेका छन्।
यो संख्या भने बढ्दै जान थालेको लुम्बिनी प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा नन्दु पाठक बताउँछन्। उनका अनुसार आकस्मिक कक्षमा संक्रमित भर्ना हुन आउने दर बढेको छ।
बिहीबार आकस्मिक कक्षका सबै बेडमा बिरामी छन्। बिहीबार दिउसोसम्म २१ जना बिरामीको आकस्मिक कक्षमा उपचार भइरहेको उनले बताए। उनले अहिले नै कतिपय पसल सञ्चालक तथा व्यापारीहरु कोरोना संक्रमण भएर अस्पताल आउनेक्रम बढेको बताए।
‘जो जसले पसल राखेर बस्नुभएको छ, उहाँहरुमा अहिले कोभिड देखिइरहेको छ, उनले भने- चैत्रमा दोस्रो लहरको सुरुवातमा पनि व्यापारीहरुमा कोभिड देखिएको थियो ।’
उनी थप्छन्-'यस्तै असावधानी र लापरबाही बढ्दै जाने हो भने संक्रमण अरु बढ्दै जानेछ।'