भैरहवा- विहान देखि परेको पानीले भैरहवा जलमग्न भएकोे छ । अविरल बर्षा भएपछि भैरहवाका मुख्य बजार बैंकरोड, मिलनचोक लगायतका क्षेत्रमा पानी जम्मा भएको छ ।
पानीको निकाश र नाली पुरिएका कारण सडकमा पानी जमेको छ । नालबाट पानी ओभर फ्लो भएसँगै पसलहरुमा समेत पानी पसेको छ । कतिपय ठाँउमा सडकको काम अधुरो छाडेकोले पनि पानीको निकाश हुन सकेके छैन ।
घाम लाग्दा धुलो उड्ने समस्या झेल्दै आएका नगरवासी पानी परेपछि भने सडक हिलाम्य को समस्या खेप्दै आएका छन । भैरहवाको मुख्य बजार बैंकरोड मिलनचोकमा पानी जम्मा हुँदा सवारी चालक र पैदलयात्रीलाई आवतजावतमा प्रहरीले केही समय रोक लगाएको थियो । जिल्ला प्रहरी कार्यालय, यातायात व्यवस्था इकाई कार्यालय, भिम अस्पतालको परिसरमा पानी जमेको छ भने अस्पताल अगाडि रहेका पसलहरुमा समेत पानी पसेकोे छ ।
आज ६४ दसमलव २ मिलिमिटर पानी परेको भैरहवा बिमानस्थलमा रहेको जल तथा मौसम कार्यालयले जानकारी दिएको छ । बर्षाले केही समय हवाई सेवा प्रभावित बनाएपनि अहिले सेवा सुचारु भएको छ । नगर क्षेत्रमा भइरहेको सडक निर्माणसगै ढल र नाला निर्माणको काम अब्यवस्थित हुँदा केही घण्टा मात्र परेको वर्षाको पानीले निकास नपाउँदा जलमग्न हुने गरेको छ ।
धेरै स्थनमा सडक, नाला भत्काइएकाले पानीले निकास पाएको छैन । सडक जलमग्न हुँदा आसपासका स्कुल, अस्पताल, सरकारी कार्यालय र सर्वसाधारणका घरमा समेत पानी पसेर समस्या भएको छ । नगरक्षेत्रभित्र भएर बग्ने खोलाहरुको जलस्तर समेत बढेको छ । तीन वर्ष अगाडि आजकै दिन भैरहवामा एक घण्टा पानी पर्दा भैरहवा जलमग्न बनाएको थियो ।